Sajhamanch Archive

सहकारी अभियन्ता भूपाल बस्नेतले खोले क्यान्सर पिडीत सहयोग संस्था

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । रकम अभावमा आफूलाई जन्म दिने बावुआमाको उपचार गर्न नपाएका राजनीतिक व्यक्तित्व एवम् सहकारी अभियन्ता भूपाल बस्नेतले क्यान्सर पिडीत हजारौं बावुआमाको उपचारमा सहयोग पुर्याउने मनसायले संस्था स्थापना गरेको बताएका छन् ।

न्यून आय भएका क्यासर पिडीत मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले आफ्ना आमाबुवाको नाममा स्थापना गरिएको स्वर्गीय गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाको बिर्तामोडमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उपचार खर्चको अभावमा क्यान्सर पिडीत आफ्ना माता पिताको ६८ र ५१ वर्षको उमेरमा मृत्यु भएका कारण आफूले अन्य नागरिकहरुलाई यसबाट मर्न नदिनका लागि यस्तो संस्थाको स्थापना गर्नुपरेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी गराए ।

कर्णाली बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा यो संस्थाले औपचारिक उद्घाटन पूर्व नै सहकारीका शेयर सदस्य झुमादेवी राजवंशीलाई उपचार गरिसकेको पनि सो अवसरमा जनाइएको छ ।

क्यासरबाट पिडीत राजवंशी ओछ्यान नै परेकी थिइन् । संस्थाको पहलमा उपचार पाएर उनी अहिले पहिलेकै अवस्थामा फर्किरहेको पनि जानकारी दिइएको छ ।

संस्थाको उद्घाटन कार्यक्रममा प्रदेश एकका सांसद ओमप्रकाश सरावगीले यस्तो प्रकारको संस्थाको स्थापना हुनु सबैका लागि गौरवको विषय भएको बताए । उनले आफू पदमा रहेको बेलामा पनि र नागरिकको हैसियतमा पनि संस्थालाई हरपल सहयोग गर्ने बचन दिए ।

सांसद सरावगीले अब हरेक नेपालीले आफ्नै भूमिमा आफैंले विषादी नहाली उत्पादन गरेको सागसब्जी, फलफूल र अन्नपात उपभोग नगरेसम्म क्यान्सर रोग फैलिइरहने भन्दै जतिसक्दो स्वदेशमा नै उत्पादन भएको खाद्यवस्तु उपभोग गर्न सुझाव दिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज आमाको गर्भबाट नै एउटा नवजात शिशु विषादी खाएर हुर्किरहेको जिकिर गरे । उनले पनि क्यान्सरबाट बच्न आफैंले उत्पादन गरेको सागसब्जी सेवन गर्न सकिएमा थोरैमात्रामा बच्न सकिने सुझाव दिए ।

सोही कार्यक्रममा कर्णाली साकोसका सदस्य रुपा ढकाललाई पनि उपचार खर्च सहयोग प्रदान गरियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *