भद्रपुरको वडा नं. ७ ले नवनिर्मित भवनबाट सेवा दिन सुरु
Published:
by .भद्रपुर । झापाको भद्रपुर नगरपालिकाको वडा नं. ७ ले आफ्नो नव निर्मित भवनबाट सेवा दिन सुरु गरेको छ ।
भद्रपुरको सगरमाथा चोकबाट लगभग २ सय मिटर पश्चिम–दक्षिणमा हालै निर्माण सम्पन्न भएको दुईतले प्रशासनिक भवनबाट औपचारिक रुपमा सेवा शुरु भएको हो ।
शनिबार स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले रिवन काटेर भवन उद्घाटन गरेका हुन् ।
तीन वर्षदेखि भाडाको घरमा रहेको कार्यालय आफ्नै भवनमा सरेपछि वडाको सेवा प्रवाह थप सहज र सुविधाजन हुने वडाध्यक्ष विनोदप्रसाद पोखरेलले बताए ।
१ करोड ४७ लाख ४६ हजार ४३४ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनमा भुइँतलामा ७ वटा कोठा र पहिलो तलामा सभाहलसहित ३ वटा कोठा रहेको इञ्जिनियर रञ्जितकारले जानकारी दिए ।
यसैबीच, भद्रपुर नगरपालिकाको वडा नं ५ को कार्यालय पनि शनिबार नै स्थानान्तरण भएको छ । हाल वडा नं ५ मा रहेको नगरपालिकाको कार्यालय भद्रपुर–६ स्थित नयाँ भवनमा सरेपछि ५ नं वडा कार्यालय नगरपालिकाको पुरानो भवनमा सरेको हो ।
नगरपालिकाकै दक्षिणतर्फको भवनको सीमित कोठाहरुमा सञ्चालन हुँदै आएको वडा कार्यालय फराकिलो ठाउँमा स्थानान्तरण भएपछि सेवा प्रवाह सहज हुने वडाध्यक्ष बन्धु कार्कीले बताए ।
Comments