Sajhamanch Archive

जिल्ला सहकारी संघ झापाले अघि सार्यो अभियानकर्मीबीच स्तुत्य कार्य

Published: in मुख्य समाचार, समाज, सहकारी, by .

झापा । सहकारीको अन्तर्राष्ट्रिय सातौं सिद्धान्त ‘समुदायप्रतिको चासो’लाई सार्थक कार्यान्वयन गर्न झापा जिल्ला सहकारी संघले विभिन्न रचनात्मक कार्यको रुपरेखा बनाएर सदस्य संस्थाहरुलाई आव्हान गरेको छ ।

जिल्ला संघले सदस्य संस्थाहरुको नाममा सार्वजनिक गरेको आव्हानमा आयुर्वेद चिकित्सकमार्फत सचेतनामुलक कार्यक्रम गर्ने तथा सहकारी संस्थाका सञ्चालक समिति एवम् उपसमितिमा आवद्ध अभियानकर्मीको निःशुल्क पिसिआर परीक्षण गर्ने उल्लेख छ ।

जिल्ला संघका सह–ब्यवस्थापक संजय ढकालका अनुसार कोभिडबाट संक्रमित सहकारीका संचालक तथा कर्मचारीहरुको मनोबल बढाउन सम्बन्धित संस्थामार्फत भेटघाट गर्ने, परामर्श दिने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक औषधी र खाद्य सामग्री संघले निःशुल्क उपलब्ध गराउने तयारी पनि भएको छ ।

बढ्दो कोभिड संक्रमणको जोखिमका कारणले सहकारी संघ–संस्थाका संचालक, कर्मचारी तथा सदस्यहरुमा उत्पन्न भएको मनोवैज्ञानिक असर कम गर्न र यसलाई सामना गर्न अपनाउनु पर्ने पूर्व सावधानी, खानपान र औषधीका बारेमा जनचेतना जगाउन सहकारी अभियान उपयुक्त माध्यम बन्ने देखिएकाले यस्तो कार्ययोजना बनाइएको अध्यक्ष गणेश ढकालको भनाई छ ।

सोका लागि आयुर्वेद चिकित्सक डा. नविन बाँस्तोलाले जुम एप्समार्फत आगामी जेठ ४ गते २ बजे चेतनामुलक सहजीकरण गर्ने कार्यक्रम बनाइएकोले सहभागिता सुनिश्चितताका लागि इच्छुकलाई नाम टिपाउन संघले अनुरोध गरेको छ ।

यसैगरी, संघको वैशाख ३१ को निर्णयले निःशुल्क पिसिआर परीक्षण गराउन चाहाने प्ररम्भिक सहकारी संस्थाका सञ्चालक समिति, उपसमितिका पदाधिकारीहरुको लागि बिर्तामोड र दमकमा सो को ब्यवस्थापन गरिएको जनाइएको छ । संघका सह–ब्यवस्थापक ढकालका अनुसार सहकारीकर्मीहरुले जेठ ६ गते बिहीबारसम्म नाम टिपोट गराउनु पर्नेछ र पिसिआर संकलनका लागि जेठ ७ गते शुक्रबार दमक नगरपालिका वडा नं. ७ को कार्यालयमा र जेठ ८ गते अनारमनी हेल्थपोष्ट बिर्ताबजारमा बिहान ११ बजे पुग्नुपर्नेछ ।

संघले प्रारम्भिक सहकारी संस्थाको समन्वयमा कोभिडबाट संक्रमित सहकारीका संचालक तथा कर्मचारीहरुको मनोबल बढाउन भेटघाट गर्ने, परामर्श दिने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक औषधी र खाद्य सामग्री निःशुल्क उपलब्ध गराउने पनि निर्णय भएको छ । सोका लागि विवरणहरु संघमा पठाउन आग्रह पनि गरिएको छ ।

जिल्ला सहकारी संघले आफ्नै कोषबाट आजमात्र करिब ६ लाख रुपैयाँको स्वास्थ्य सुरक्षा सामग्री तीनवटा सुरक्षा निकायका लागि हस्तान्तरण गरेको थियो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनामार्फत् ती सामग्री सुरक्षा निकाय लाई हस्तान्तरण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *