Sajhamanch Archive

न्युनतम पारिश्रमिक नदिने भद्रपुर नगर सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

Published: in विविधा, समाज by .

भद्रपुर । भद्रपुर नगरपालिकाले संघीय सरकारले यस वर्षबाट तय गरेको न्युनतम पारिश्रमिक शिक्षक कर्मचारीलाई नदिएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको छ ।

संघीय सरकारको नीति विपरित भद्रपुर नगर सरकारले बाल शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीका संघीय सरकारले वजेट मार्फत श्रमिकहरूको न्युनतम पारिश्रमिक १५ हजार कार्यान्वयनमा ल्याउने नीति लिए पनि भद्रपुर नगर सरकारले आफ्ना मातहतका बाल शिक्षक तथा कर्मचारीको पारिश्रमिक सो अनुसार नदिने गरी नीति लिएपछि काँग्रेसले खवरदारी गर्दै विरोध जनाएको हो ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल तथा भद्रपुर नगर सभापति मोहन मर्हजनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ—संघीय सरकारले बजेट भाषण मार्फत देश भरिका बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीको मासिक तलब न्यूनतम १५ हजार रुपैयाँ पुर्याउने र यसका लागि ८ हजार रुपैयाँ संघीय सरकारले प्रदान गर्ने भई ७ हजार रुपैयाँ स्थानीय तहले थप गर्नु पर्ने घोषणा गरेता पनि भद्रपुर नगरपालिकाले नगर सभा मार्फत आउने आर्थिक वर्षका लागि पारित गरेको बजेटमा भने १५ सय रुपैयाँ मात्र थप गर्ने घोषणा गरेकोले त्यसको विरोधमा नेपाल शिक्षक महासंघ, भद्रपुरको नेतृत्वमा हुँदै आएको बाल शिक्षक, तथा कर्मचारीहरुको आन्दोलनप्रति हाम्रो पार्टी नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । चर्को श्रम शोषणमा कार्यरत बाल शिक्षक तथा कर्मचारीहरुको आन्दोलनप्रति संवेदनशील कुनै पनि व्यक्ति वा पक्ष सहानुभूतिशील नहुन सक्दैन ।

भद्रपुर नगरपालिकाका सामूदायिक विद्यालयहरुमा कार्यरत बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरुको न्यूनतम तलब संघीय सरकारले निर्धारण गरे बमोजिम हुनुपर्ने पार्टीको धारणा बमोजिम हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभामा प्रष्टसँग यो विषयमा कुरा राख्नु भएको थियो । तर, बहुमतको बलमा अन्यायपूर्वक बाल शिक्षक तथा कर्मचारीहरुको तलब संघीय सरकारले तय गरे बमोजिम निर्धारण नगरेकोमा भद्रपुर नगरपालिकाको निर्णयप्रति हाम्रो पार्टीको तर्फबाट क्षोभ प्रकट गर्दछौं भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *