एकल पुरुषलाई भत्ता
Published:
by .अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ। नगरपालिकाभित्र रहेका ४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था गरेको हो।
आगामी आर्थिक वर्षको बजेटमा ३५ वर्ष पुगेका अविवाहित महिला र ४० वर्ष पुगेका एकल पुरुषलाई मासिक भत्ताको व्यवस्थापन गर्ने शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्य अधिकारीले बताए। यो कार्यक्रम आउने साउन महिनाबाट लागू हुनेछ।
कहीँ कतैबाट भत्ता, पेन्सन प्राप्त नगरेका ३५ वर्ष माथिका अविवाहित एकल महिला, ४० वर्ष माथिका एकल पुरुष र ‘ग’ वर्गका अपागंहरूलाई मासिक भत्ता उपलब्ध गराउने बताइएको छ। क र ख वर्गका अपांगता भएका व्यक्तिलाई संघीय सरकारबाट मासिक भत्ता प्रदान भए पनि ‘ग’ वर्गका अपांगलाई नछोएको भन्दै उनीहरूलाई पनि भत्ताको व्यवस्था गरिएको हो।
यसैगरी, नगरपालिकाले कृषि, सडक, स्वास्थलाई प्राथमिकता दिने गरी बजेट ल्याएको छ । जनताको माग बढी हुने पाइप, जालीहरूमा यो वर्ष बढी बजेट विनियोजन गरेको छ । खानेपानीको विद्युत महसुलमा ७५ प्रतिशत अनुदान नगरपालिकाले दिने गरी बजेट प्रस्तुत भएको छ। जनतालाई पर्ने आर्थिक भार कम गर्न विद्युत महसुल नगरपालिकाले तिर्ने भएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीको भनाइ छ।
कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र विविधीकरणमा जोड दिँदै एक वडा एक उत्पादन र बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरक्षेत्रमा कृषिउपज संकलन तथा बिक्री गर्न पूर्वाधारका साथै शीतभण्डारको स्थापना गर्न पहल गर्ने जनाएको छ ।
कृषिउपज संकलन केन्द्रमार्फत स्वयं किसानले आफ्ना उत्पादनहरू बिक्री गर्ने व्यवस्था मिलाउने र कृषि तथा पशुपालनमा प्रदान गरिँदै आएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ। जसका लागि प्रत्येक वडामा एक कृषि तथा पशु सहकारी संस्थाहरूमार्फत बिक्री वितरण र नापतौल गर्ने व्यवस्थालाई निरन्तरता दिइने नगरपालिकाका नगर उप प्रमुख टिका रेस्मीले बताए। प्रभावकारिताका लागि नगरपालिकाबाट विशेष अनुगमन गरिनेछ।
Comments