Sajhamanch Archive

गाउँमा फेरि आलम आतंक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by .

आलमका समर्थक दीपावली मनाउँदै : जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा जेलमा रहेका निलम्बित कांग्रेस सांसद अफ्ताब आलमका समर्थक शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गाउँमा पटाका र बन्दुक पड्काएर खुसियाली मनाउँदै छन् । ‘आलम अब कैदमुक्त हुने’ भन्दै उत्साही बनेका उनीहरू पीडितहरूलाई फेरि धम्की दिन थालेका छन् ।

१९ फागुनमा रौतहट पुगेर के भनेका थिए देउवाले ?

मोहम्मद अफ्ताब अहिले जेलमा हुनुहुन्छ । उहाँलाई फसाइएको हो, झुटो मुद्दा लगाइएको हो । उहाँलाई छुटाएर न्याय दिलाउन म आफ्नोतर्फबाट पूरै लागिरहेको छु । अहिले उहाँको मुद्दा अदालती प्रक्रियामा छ । त्यो प्रक्रिया पूरा गरेरै उहाँलाई कैदमुक्त गराउन मैले पहल गर्छु । 

…                          …

मान्छेलाई जिउँदै इँटाभट्टामा पोलेर क्रुर हत्या गरको अभियोगमा जेलमा रहेका भोगिरहेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमका समर्थकहरूले शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि दीपावली मनाउन थालेका छन् । गत फागुनमा रौतहट पुगेका देउवाले आलमलाई फसाइएको र उनको रिहाइका लागि पहल गर्ने बताएका थिए ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएदेखि नै आलमको गाउँ रौतहटको राजपुर फरहदवा, औरैयालगायतका ठाउँमा उनका समर्थकहरूले पटका र बन्दुक पड्काएर दीपावली मनाउँदै छन् । ‘आलम अब कैदमुक्त हुने’ भन्दै उनीहरूले खुसियाली मात्रै मनाइरहेका छैनन्, आलमको ज्यादतीबाट पीडितहरूलाई धम्कीसमेत दिन थालेका छन् । आलमविरुद्ध न्यायिक लडाइँ लडिरहेका पीडित र स्थानीयमा फेरि त्रास बढेको छ ।

पटाका र बन्दुक पड्काउने सोमबारदेखिको क्रम नरोकिएपछि मंगलबार साँझ स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए । तर, विरोध गर्नेहरूलाई आलमका समर्थकहरूले कुटपिट गरेका छन् । स्थानीय युवा रियाज आलम र मोहम्मद अक्सर कुटपिटबाट घाइते भएका छन् । अक्सर गौर अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने रियाजलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको स्थानीय एमाले नेता किरण साहले बताए । रियाजको टाउको र कानमा चोट लागेको उनले बताए ।

गत १९ फागुनमा रौतहटको गढीमाई नगरपालिका– ६ सिगारमनमा भएको विष्णु महायज्ञ उद्घाटन गर्ने क्रममा देउवाले कैदमा रहेका आलमको रिहाइका लागि पहल गर्ने बताएका थिए । ‘मोहम्मद अफ्ताब अहिले जेलमा हुनुहुन्छ । उहाँलाई फसाइएको हो, झुटो मुद्दा लगाइएको हो । उहाँलाई छुटाएर न्याय दिलाउन म आफ्नोतर्फबाट पूरै लागिरहेको छु । अहिले उहाँको मुद्दा अदालती प्रक्रियामा छ । त्यो प्रक्रिया पूरा गरेरै उहाँलाई कैदमुक्त गराउन मैले पहल गर्छु,’ त्यतिखेर देउवाले भनेका थिए ।

आलमका समर्थकको कुटपीटबाट घाइते भएका रौतहट राजपुरका रियाज आलम । टाउको र कानमा चोट लागेका उनको वीरजन्जमा उपचार भइरहेको छ ।

त्यतिखेरको देउवाको अभिव्यक्तिका कारण पनि अहिले आलमका समर्थक उत्साही हुँदै दीपावली मनाउने र स्थानीयलाई तर्साउने काम गरिरहेको स्थानीय नेता शैलेन्द्र साहले बताए । ‘देउवाले सार्वजनिक रूपमै कैदमा रहेका आलमलाई जेलमुक्त गराउने घोषण गर्नुभयो । यो अभिव्यक्तिले आलमका समर्थकलाई उत्साही बनायो । सोमबारदेखि नै उनीहरूले राजपुरमा पटका र बन्दुक पड्काउँदै दीपावली मनाइरहेका छन्, पीडित परिवार र स्थानीयलाई धम्की दिइरहेका छन् । गाउँमा फेरि ठूलो त्रास सिर्जना भएको छ,’ शैलेन्द्रले भने ।

एमाले नेता साहका अनुसार आलमका समर्थकहरू कुटपिटमा पनि उत्रिएका छन् । ‘आलम अब कैदमुक्त हुने भए भन्दै उनीहरू खुसीले उफ्रिरहेका छन् । स्थानीयमा आतंक फैलिएको छ,’ उनले भने ।

२७ चैत ०६४ मा फरदहवास्थित तत्कालीन कांग्रेस नेता शेख इद्रिसको गाईगोठमा बम बनाउने क्रममा विस्फोट भएको थियो । निर्वाचनमा बुथ कब्जा गर्ने योजनासहित कांग्रेस उम्मेदवार रहेका नेता आलमले बम बनाउन कालिगढ खटाएका थिए । आलम शेख इद्रिसका भतिजा हुन् । निर्वाचनको अघिल्लो दिन भएको विस्फोटको घटना सार्वजनिक हुनबाट रोक्न उनले घाइतेसहित करिब एक दर्जनभन्दा धेरैलाई भट्टामा हालेर जिउँदै जलाएका थिए । सोही अभियोगमा आलम डेढ वर्षदेखि ललितपुरको नक्खुस्थित कारागारमा पुर्पक्षका लागि जेलजीवन बिताइरहेका छन् ।

त्यतिखेर विस्फोटमा परी स्थानीय श्रीनारायण सिंहका छोरा २२ वर्षीय पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा २१ वर्षीय महम्मद ओसी अख्तरको मृत्यु भएको थियो । घाइते धेरै भएका थिए । आलम छुट्ने भन्दै समर्थकको दीपावलीले पीडितहरू थप त्रसित बनेका छन् ।

मृत्यु भएका त्रिलोकप्रतापका दाजु सटेन्द्र सिंहले नयाँ पत्रिकासँग भने, ‘देउवाले यसअघि नै आलमलाई छुटाउँछु भन्नुभएको थियो । अहिले उहाँ नै प्रधानमन्त्री बन्नुभएको छ । आलम छुट्ने खुसियालीमा उनका समर्थकले राजपुरमा दिनदिनै पटका पड्काउँछन् । दीपावली गरिरहका छन् । हामीलाई धम्की दिइरहेका छन् । हामीमा फेरि त्रास पैदा भएको छ, कतै न्याय नपाउने हो कि भन्ने डर लाग्न थालेको छ ।’

जिल्ला प्रहरी कार्यालय रौतहटले भने आलमको गाउँमा दीपावली भए पनि बन्दुक नपड्काएको दाबी गरे । आलमका समर्थकले गरेको कुटपिट पनि त्यसकारणले नभएको रौतहटका एसपी सिद्धिविक्रम शाहले दाबी गरे । ‘२८ गते साँझ दीपावली भएको मैले पनि सुनेँ । तर, पटाका र बन्दुक पड्काएको भने थाहा पाइनँ,’ उनले भने, ‘मंगलबार राजपुरमा दुई समूहबीच कुटपिट भएको हो । त्यो पनि पटाका र बन्दुक पड्काएका कारण होइन ।’

यसरी भएको थियो नरसंहार

२८ चैत ०६४ मा हुन लागेको पहिलो संविधानसभा चुनावमा मोहम्मद अफ्ताब आलम रौतहट– २ बाट कांग्रेसका उम्मेदवार थिए । जसरी पनि चुनाव जित्न उनले बुथ कब्जाको रणनीति बनाए । यही योजनाअनुसार उनले भारतको बिहारबाट बम बनाउने कालिगढ झिकाए । बम बनाउने कारखाना भने आफ्ना काका शेख इद्रिसको गाईगोठलाई बनाए ।

भारतीय कालिगढसँगै स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहयोगीका रूपमा खटिए । २७ चैत ०६४ को साँझ गोठमा बम बनाइँदै थियो । तर, असावधानीले अचानक बम विस्फोट भयो । केही युवा घटनास्थलमै ढले, घाइतेहरू ज्यान बचाउन भाग्न थाले । चुनावको अघिल्लो साँझ भएको यो घटना सार्वजनिक हुन नदिन आलमका सहयोगीले घाइतेलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा समातेर बेहोस हुने इन्जेक्सन दिए ।

त्यसपछि उनीहरूलाई बोरामा प्याक गरे र ट्र्याक्टरमा खाँदेर नजिकै रहेको आलमका भाइ महताबको इँटाभट्टामा पुर्‍याए । सशस्त्र प्रहरीको स्कर्टिङमै ट्र्याक्टर इँटाभट्टा पुर्‍याइएको थियो । त्यसपछि घाइतेहरूलाई भट्टीमा हालियो । सिंगै शरीर नछिरेका घाइतेलाई बन्चरोले गिँडेर भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नष्ट गरियो ।

बम विस्फोटको १२ वर्षपछि ०७६ असोजमा रौतहट प्रहरीले नयाँ शिराबाट अनुसन्धान थाल्यो । प्रहरीको सक्रियतापछि पीडितहरूलाई पनि बोल्ने साहस आयो, उनीहरूले प्रहरीमा जाहेरी दिए । त्यसकै आधारमा २६ असोज ०७६ मा आलम पक्राउ परे । जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नक्खु कारागारमा छन्, तर उनको आतंक अझै जारी छ । विस्फोटमा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायण सिंह अझै कानुनी लडाइँमा छन् । अर्का मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले भने आलमको दबाबमा बयान फेरेकी छिन् ।

नयाँ पत्रिकाबाट साभार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *