Sajhamanch Archive

कोरोनाबाट ज्यान गुमाउने साढे ४० लाख नाघे

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । दक्षिण कोरियाले गत साता कोरोना भाइरसको चौथो चरणको नयाँ भेरियन्ट देखापरेको समाचार सार्वजनिक गरेको थियो । दक्षिण कोरियामा देखिएको यो नयाँ भेरियन्ट प्रारम्भिक अवस्थामा डरलाग्दो नभए पनि कोरियन अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । कोरियाले यस भेरियन्टबाट कति व्यक्तिको ज्यान गयो भन्ने अझैसम्म पुष्टि गरेका छैन । तर, विश्वमा कोरोनाको पहिलोदेखि तेस्रो लहर चल्दासम्म ४० लाख ६८ हजार आठ सय ५४ जनाले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

पहिलो लहरमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा लिन नसक्दा अमेरिकामा सबैभन्दा धेरैले ज्यान गुमाए । अमेरिकामा कोरोनाका कारण ६ लाख २३ हजार चार सय ४७ जनाको निधन भइसकेको छ । सुरुदेखि नै कोरोना नियन्त्रणमा गम्भीर नबनेको दक्षिण अमेरिकी देश ब्राजिलमा पनि पाँच लाख ३५ हजार नौ सय २४ जनाले ज्यान गुमाइसकेको डब्लुएचओले जनाएको छ ।

दक्षिण एसियाली मुलुक भारतले पहिलो र दोस्रो चरणमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा लिन नसक्दा धेरै मानिसले ज्यान गुमाए । अप्रिल महिनामा मात्रै यहाँ लगातार दैनिक साढे दुई लाखदेखि चार लाखसम्म संक्रमित भए । यही महिनामा भारतमा कोरोनाबाट धेरैको ज्यान गयो । अहिलेसम्म भारतमा कोरोनाबाट चार लाख ११ हजार ६ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।

चौथो स्थानमा मेक्सिको पर्छ । कोरोना भाइरस संक्रमित तथ्यांकअनुसार मेक्सिको १६औँ स्थानमा छ । तर, कोरोनाबाट निधन हुनेहरूको सूचीमा मेक्सिको चौथो स्थानमा छ । मेक्सिकोमा दुई लाख ३५ हजार दुई सय ७७ जनाले कोरोनाकै कारण ज्यान गुमाएको एजेन्सीहरूले जनाएका छन् । युरोपेली देश फ्रान्समा कोरोनाबाट एक लाख ४५ हजार दुई सय ७८ जनाले ज्यान गुमाए ।

यसै साता युरोपमा सम्पन्न युरोकप च्याम्पियनसिप २०२० फुटबल प्रतियोगिताले संक्रमितहरू बढेको एजेन्सीहरूको दाबी छ । तर, संक्रमण दरका अनुपातमा युरोपमा पछिल्लो समय मृत्यु हुने दरमा भने कमी आएको एजेन्सीहरूको भनाइ छ । यसैबीच जोन्स हप्किन्स विश्वविद्यालयको एक तथ्यांकअनुसार विश्वमा हालसम्म १८ करोड ८८ लाख ६ हजार आठ सय २९ जना कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा विश्वभरि दुई लाख २५ हजार एक सय चारजना नयाँ संक्रमित थपिएका छन् ।

साढे तीन अर्बले लगाए खोप
अहिलेसम्म तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार चार सय ८० जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयले बधुबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० देश अझै पनि कोरोनाको उच्च जोखिममा छन् ।

यसैबीच अस्ट्रेलियाको सिड्नीमा लकडाउनको समय थप गरिएको छ । प्रशासनले सिड्नीमा थप दुई साता लकडाउन गर्ने निर्णय गरेको हो । यो लकडाउन ३० जुलाईसम्म जारी रहनेछ । पछिल्लो २४ घन्टामा सिड्नीमा ९७ जनामा कोरोना संक्रमण देखिएको छ । सोहीकारण प्रशासनले बुधबारै कोरोना नियन्त्रण गर्न लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । ‘हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समीक्षा गरेका छौँ, संक्रमण अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले लकडाउन समयावधि फेरि थप गर्ने निर्णय भएको हो,’ अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लकडाउनमा लागू हुने नियमलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीले आग्रह गरेका छन् ।

लकडाउनको समयावधि थप भएपछि विद्यार्थीको अध्ययनअध्यापन पनि अझै केही दिन अनलाइनबाटै हुने भएको छ । अस्ट्रेलियामा कोरोनाका कारण अहिलेसम्म ३१ हजार चार सय २९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा यहाँ तीन सय २२ जना नयाँ संक्रमित थपिएका छन् । अस्ट्रेलियामा कोरोनाका कारण नौ सय १२ जनाले ज्यान गुमाएका छन् ।

भारतमा एक वर्षपछि भौतिक रूपमा मन्त्रिपरिषद् बैठक
भारतमा एक वर्षपछि मन्त्रिपरिषद्काे बैठक भौतिक रूपमा बसेको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रूपमै बसेको भारतीय एजेन्सीहरूले जनाएका छन् । मन्त्रिपरिषद्मा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा मन्त्रिपरिषद्को बैठक डाकेका हुन् ।

बैठकमा विशेषगरी आगामी संसद् अधिवेशनका बारेमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री मोदीले बैठकमा कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *