Sajhamanch Archive

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव

Published: in राजनीति, विविधा by .

काठमाडौं । नेकपा एमालेले अध्यक्षलाई थप शक्तिशाली बनाउने प्रस्ताव तयार गरेको छ । महाधिवेशनले अध्यक्ष र महासचिव निर्वाचित गर्नेछ भने चुनिएका केन्द्रीय सदस्यले बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गर्दैछ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले यस्तो निर्णय गरेको हो जहाँ वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको उपस्थिति थिएन । संशोधनका लागि प्रस्ताव गरिएको विधानमा पोलिट्ब्युरो र वैकल्पिक केन्द्रीय सदस्य रहने छैनन् ।

महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न सहज होस् भनेर निर्वाचित केन्द्रीय सदस्यहरुले नै बाँकी पदाधिकारी चुन्ने व्यवस्था गर्न लागिएको एक नेताले जानकारी गराए ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिएका छन् । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।

कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताए । उनका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । कार्यालय सचिव तामाङ्ले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिए ।

यसैगरी केन्द्रीय कमिटी सदस्यको सङ्ख्या पनि बढाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको उनले जानकारी दिएका छन्। पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने पारित विधानमा उल्लेख छ ।

एमालेको केन्द्रीय कमिटी बैठक अहिले ३ बजे सोही प्रतिष्ठानमा राखिएको छ । स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ । यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइनेसमेत उल्लेख गरिएको कार्यालय सचिव तामाङ्ले जानकारी दिए । उनले अहिले बस्ने केन्द्रीय कमिटीले विधान पारित गरेपछि लागू गरिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *