Sajhamanch Archive

‘राष्ट्रिय बाल दिवस’ भाद्र २९ मा मनाउने सरकारको तयारी पुरा

Published: (Updated: ) in समाज by .

काठमाडौँ । ‘सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार’ भन्ने मुल नाराका साथ सरकारले भाद्र २९ मा राष्ट्रिय बाल दिवस मनाउने तयारी गरेको छ ।

महिला बालबालिका विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘राष्ट्रिय बाल दिवस’ देशव्यापी रुपमा मनाउने सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपालको बालबालिकाको हालको अवस्था बारेमा जानकारी गराईएको थियो । जसअनुसार नेपालमा २०६८ सालको जनगणना अनुसार १८ वर्षका ४१.८५ प्रतिशत,१६ वर्षका ३७.३७ र १४ वर्ष मुनिका ३२.३५ प्रतिशत बालबालिका रहेको उल्लेख गरिएको छ ।

यस्तै २०७४ सालको शैक्षिक सत्रमा प्राथमिक तहको खुद भर्नादर ९७.२ प्रतिशत,आधारभूत तह अर्थात कक्षा १ देखि ८ सम्म ९२.३ प्रतिशत बालबालिका विद्यालय जाने गरेका छन् । माध्यमिक तह अर्थात कक्षा ९ देखि १० सम्म ६५ प्रतिशत ,उच्च माध्यमिकतह अर्थात ११ देखि १२ कक्षा सम्म २२.० र माध्यमिक तह अर्थात ९ देखि १२ ४३.९ र कक्षा ९ देखि १२ सम्म कूल भर्नादर ६०.० प्रतिशत रहेको जनाएको छ ।

८७३ बालबालिकाको उद्धार
उपत्यकाबाट सरकारले एक आर्थिक वर्षमा ८ सय ७३ सडक बालबालिका उद्धार गरेको पनि कार्यक्रममा जनाएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ देखि काठमाडौँ उपत्यकामा “बालबालिका सडकमा बस्नु पर्दैन,सडकमा बस्न हुर्दैन” भन्ने उदेश्यका साथ संचालन गरेको यस कार्यक्रमले ७ सय ८३ बालक र ९० जना बालिका उद्धार गरेको जनाईएको छ । अहिले २७६ बालबालिका विभिन्न केन्द्र÷गृहहरुमा आश्रित रहेको छन् । यस्तै ४ सय २० जना बालबालिकालाई पारिवारिक पुनस्र्थापना गरिएको छ ।

५९ जना बालश्रमिक उद्धार
सार्वजनिक सवारी साधनमा बालबालिकाको प्रयोग भईरहेको हुदाँ त्यस्ता बालबालिकाको उद्धार गरेको पनि केन्द्रीय बाल कल्याण समितिले जनाएको छ ।

जसमध्ये काठमाडौँ उपत्यकाका सार्वजनिक यातायातमा बैशाखको पहिलो हप्ता देखि असारको पहिलो हप्ता सम्म १ हजार ७३ वटा सवारी साधनमा अनुगमन गरेको बुझिएको छ । अनुगमनको क्रममा ५९ जना बाल श्रमिक उद्धार गरी विभिन्न संस्थाहरुमा पुनस्र्थापना संगै परिवारमा जिम्मा लगाईएको समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *