Sajhamanch Archive

दोस्रो विवाह गर्ने यि कलाकारहरूको रोचक कथा

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । अभिनेता अभिनेत्री सुस्मिता बम्जन केसीले इन्गेजमेन्ट गरेकी छन् ।

उनले साउथ इन्डियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । गत ९ सेप्टेम्बरमा इन्गेजमेन्ट गरेकी सुस्मिताले आउँदो भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गर्ने भएकी छन् ।
सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टिए पनि एक्लै रहँदै आएकी उनले स्वामीसँग दोस्रो विवाह गर्न लागेकी हुन् ।

उनले दुई वर्ष अगाडि ‘म त तिम्रै हुँ’ चलचित्र निर्माण गरेकी थिइन् । उक्त चलचित्र प्रदर्शनको सिलसिलामा अस्ट्रेलिया जाँदा स्वामीसँग उनको त्यहीँ भेट भएको थियो ।

भुवनसँग रहँदा भने उनले ‘नेपाली बाबु’, ‘करोडपति’, ‘सुपरस्टार’लगायतका चलचित्र अभिनय गरेकी थिइन् । यी चलचित्र सुपरहिटको सूचीमा छन् ।

सुस्मिता मात्र कहाँ हो र अहिलेकी हट एन्ड हिट अभिनेत्री प्रियङ्का कार्की पनि दोस्रो विवाह गर्ने तरखरमा छिन् । उनले अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रो लगनगाँठो कस्न लागेकी हुन् ।

डेढ वर्षयताको अफयेरलाई विवाहमा परिणत गर्न लागेकी उनले आयुष्मानसँग केही पहिले इन्गेजमेन्टसमेत गरेकी छन् । दुबैको छिट्टै विवाह गर्ने हल्ला पनि छ ।

प्रियङ्काले यस अगाडि अमेरिका बस्दै आएका रोचक मैनालीसँग विवाह गरेकी थिइन् । प्रियङ्का पछिल्लो समय चलचित्र ‘कथा काठमाडौँ’मा अभिनेता प्रमोद अग्रहरीसँग दिएको इन्टिमेन्ट दृश्यका कारणले हट केक बनेकी छन् ।

प्रियङ्का र सुस्मिता मात्र होइन, नेपाली कलाक्षेत्रमा अन्य थुप्रै कलाकार पनि छन् । जसले रोजेका छन् दोस्रो विवाह ।

सुस्मिताका पूर्वपति तथा अभिनेता भुवन केसीकोे सुस्मितासँग दोस्रो विवाह थियो । उनले सुस्मिता अगाडि विजया गिरीसँग विवाह गरेका थिए ।

विजयालाई धोका दिएर सुस्मिता भित्र्याएका भुवन अभिनेत्री जिया केसीसँगको लिभिङ टुगेदरमा रमाउँदै आएको हल्ला छ ।

बाध्यताले गरे पनि दोस्रो विवाह गर्ने कलाकारको नाम लिनुपर्दा वरिष्ठ कलाकार हरिवंश आचार्यको नाम पनि छुटाउन मिल्दैन ।

पहिलो श्रीमती मिरा आचार्यको निधन भएपछि आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका हुन् । ५४ वर्षको उमेर दोस्रो विवाह गरेका हरिवंश अहिले दोस्री श्रीमतीसँग खुसी छन् ।

त्यस्तै एक्सन किङ भनेर चिनिने अभिनेता निखिलको पनि अभिनेत्री संचितासँगको घरजम दोस्रो हो ।

कोपिला उप्रेतीसँग पहिलो विवाह गरेका निखिलले उनलाई धोका दिँदै संचिता भित्र्याएका थिए । विवाहपछि यी दुवै केही समय मुम्बईमा समेत लुके । अहिले नेपाली चलचित्रमा क्रियाशील छन् ।

अभिनेत्री संचिताको पनि निखिलसँग पहिलो विवाह भने होइन । उनले पहिलो विवाह मोडल तथा अभिनेता आकाश शाहसँग गरेकी थिइन् ।

आकाशलाई धोका दिएर उनले निखिल रोजेकी हुन् । आकाश प्रायः समय बलिउडतिरै रहने भएकाले निखिल रोजेकी उनले केही पहिले बताएकी थिइन् ।

त्यसो त अहिले पुराना एक्सन किङ भनेर चिनिने अभिनेता शिव श्रेष्ठले पनि दोस्रो घरजम गर्ने व्यक्ति हुन् ।

गङ्गादेवी श्रेष्ठसँग पहिलो विवाह गरेका श्रेष्ठले उनीसँगको दाम्पत्य जीवन असफल भएपछि चितवनकी सिर्जना श्रेष्ठलाई दोस्री पत्नीका रूपमा भित्र्याएका थिए ।

त्यसपछि पनि उनी एक युवतीसँगको प्रेममा थिए । तर त्यो सम्बन्ध परिवारले टिक्न दिएनन् ।

चर्चित निर्माता छविराज ओझाले पनि अभिनेत्री रेखा थापासँग दोस्रो विवाह गरेका थिए ।

रेखासँग छविको दोस्रो होइन तेस्रो भन्ने पनि चलचित्र क्षेत्रमा भेटिएका छन् । कतिपय त यो हल्ला मात्र हो पनि भन्छन् । तर अहिले छवि र रेखासमेत छुट्टिइसकेका छन् ।

छविको नाम अहिले अभिनेत्री शिल्पा पोखरेलसँग जोडिएर आउने गरेको छ । रेखा भने अहिले सिङ्गल नै छिन् ।

कलाकार तथा निर्माता पवन मैनालीले पनि गतवर्ष दोस्रो विवाह गरे ।

५२ वर्षका मैनालीले दोलखाकी लक्ष्मी सिवाकोटीसँग दोस्रो विवाह गरेका हुन् ।

दर्जनौँ चलचित्रमा अभिनय गरेका पवनले ‘पिँजडा’ नामक चलचित्र निर्माणसमेत गरेका थिए । जुन चलचित्र अभिनेता निखिलको अभिनयमा डेब्यु थियो ।

अभिनेत्री मोडल सिम्पल खनालले पनि अहिले दोस्रो घरजम गरिसकेकी छन् ।

नाम सिम्पल भए पनि मोडलिङमा हट देखिँदै आएकी सिम्पलको पहिलो पति निर्देशक प्रसन्न पौडेल हुन् ।

प्रसन्नसँग वैवाहिक जीवन सहज रूपमा अगाडि बढ्न नसकेपछि एक्लो रहँदै आएकी उनले अहिले भारतीय मूलका एक व्यवसायीसँग विवाह गरेको बुझिएको छ ।

निर्देशक सुरज चन्दसँग विवाह गरेर एक छोरीको आमा बनेपछि मात्र अभिनयमा भित्रिएकी पूजा चन्दले पनि अहिले दोस्रो विवाह गरेकी छन् ।

उनले केही वर्ष अगाडि अमेरिकामै गायक राजु लामासँग दोस्रो लगनगाँठो कसेकी हुन् । हाम्रो सानो घर होला, सहर, वरपीपल जस्ता सफल चलचित्र अभिनय गरेकी पूजालाई अमेरिकामा सुरजले नै पठाएका थिए । सुरज र छोरी छोडेर उनले अर्को श्रीमान रोजेकी हुन् ।

अभिनयका गुरु भनेर चिनिने कलाकार अनुप बरालको पनि दिया मास्केसँग दोस्रो घरजम हो । ७ वर्षसम्म प्रेममा रहेर निर्देशक अनुपले दियालाई २०७१ मा घर भित्र्याए ।

विवाह गर्नुभन्दा पहिले उनीहरू लिभ इन रिलेसनसिपमा रहेको पनि चर्चा थियो । अनुपको दियासँग दोस्रो विवाह भए पनि दियाको भने पहिलो हो ।

अभिनेता भुपेन चन्दसँग विवाह गरेर अमेरिका उडेकी अभिनेत्री सौजन्य सुब्बाको पनि भुपेन दोस्रो श्रीमान् हुन् । पहिलो विवाह टुटेपछि एक्लै रहँदै आएकी सौजन्यले भुपेनसँग प्रेमविवाह गरेकी हुन् ।

त्यसो त सौजन्यसँग पनि भुपेनको दोस्रो विवाह नै हो । पहिली पत्नी हुँदाहुँदै साजन्यसँग उनले प्रेम विवाह गरेका थिए । सौजन्य भुपेन दुवै अहिले अमेरिकामा बस्दै आएका छन् ।

नेपाली लोकगीतको म्युजिक भिडियोको बजारमा मोडल तथा निर्देशक शंकर बीसीको ठूलो नाम छ । पेसामा शंकर जति सफल र खुशी छन्, उनको पारिवारिक जीवन भने त्यस्तो छैन ।

किनभने उनले पनि दोस्रो घरजम गरेका छन् । पहिलो पत्नीलाई नेपालगञ्जतिरै व्यवस्थित घरबार बसालिदिएका उनले दोस्रो लगनगाँठो निशा सुनारसँग कसे । लोकगीतका म्युजिक भिडियो निर्माणको सिलसिलामा परेको प्रेम उनले विवाहमा परिणत गरेका हुन् । यी दुवैको एक छोरी छन् ।

गायक सत्यराज आचार्यले पनि अहिलेकी श्रीमती अनिता थापा दोस्री पत्नी हुन् । पहिली श्रीमतीको निधनपछि सत्यले अनितासँग प्रेम विवाह गरेका हुन् । थापाकी छोरी अनिता र बाहुनका छोरा सत्यले पारिवारिक सहमतिमा विवाह गरेका थिए ।

नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका गायक यम बरालले पनि केही पहिले दोस्रो विवाह गरे । पहिलो पत्नीसँग डिभोर्स भएपछि उनले दोस्री पत्नी भित्र्याएका हुन् । उनी पछिल्लो समय विदेश कार्यक्रममा समेत व्यस्त रहने गरेका छन् ।

यी त उदारण मात्र हुन् । खोतल्दै जाने हो भने दोस्रो विवाह गर्ने धेरै कलाकार भेट्न सकिन्छ । तर यस्ता कलाकारको कथा भने बोग्ला बेग्लै रहेको छ । केही कलाकारले बाध्यताले दोस्रो विवाह गरेका छन्, भने केहीले अघिल्लोबाट धोका पाएर दोस्रो विवाह रोजेको हुन् । केहीले भने अघिल्लोलाई धोका दिएर दोस्रो विवाह गरेको देख्न सकिन्छ ।
रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *