Sajhamanch Archive

सभामुखले डाकेको सर्वदलीय वैठक निष्कर्षविहीन

Published: in राजनीति, विविधा by .

काठमाडौं  । सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् ।

संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।

बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनु भएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’ उनले बैठकमा सहभागी दलका नेताहरुले सदनलाई अनिर्णयको बन्दीबाट मुक्त गर्न प्रतिपक्ष सहभागी हुनैपर्ने भन्दै कानुन अनुसार नेकपा एकीकृत समाजवादी गठन भएकाले समाजवादी पार्टी सहभागी बैठकमा आउँदिन भन्नु हठ र इगो मात्रै भएको प्रतिक्रिया दिइन् ।

‘सदनमा प्रतिपक्षको मुख्य भूमिका हुन्छ । छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । कानुन अनुसार एकीकृत समाजवादी बनेको अवस्थामा हठ र इगो लिएर प्रतिपक्षको भूमिका निस्क्रिय गराउन मिल्दैन । विधि प्रक्रिया अनुसार जानुपर्छ र निकास दिनुपर्छ’, पौडेलले भनिन् ।

सभामुख सापकोटाले भने आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको संवाद सुनाएका थिए । दलका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनले बताएका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए । ‘कुनै निचोडमा पुगेको छैन । यो सभामुख र प्रमुख प्रतिपक्षको कुरा हो, उहाँको उपस्थिति बिना कुनै परिणाम आउँदैन’ अध्यक्ष ठाकुरले भने, ‘पहिला पनि ५९ दिनसम्म संसद अवरुद्ध भएको थियो, अहिले त २–३ दिन मात्र भएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *