एक पटक घुम्नै पर्ने ठाउँ झापाको पर्यटकीय क्षेत्र दोमुखा
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा पर्ने पर्यटकीय क्षेत्र दोमुखा वनभोज तथा रमणीय दृश्यावलोकनका लागि पूर्वाञ्चलकै प्रसिद्ध स्थल हो । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखा पछिल्लो समय पर्यटकीय गन्तव्य समेत बनेको छ । उत्तरी सिमाना इलामसँग जोडिएको यसलाई अविरल बग्ने माई खोलाले थप सुन्दर बनाइदिएको छ ।
महेन्द्र हाइवेको माइधारबाट उत्तर करिब ३ कि.मी चुरे पहाडको काखमा रहेको उक्त पर्यटकीय क्षेत्रमा बनभोज र रमाइलो गर्न भारतको दार्जेलिङ्गदेखि, नेपालको मोरङ, सुनसरी, सिरहा, सप्तरीलगायतका जिल्लाहरुबाट दैनिक ५ हजार पर्यटक भित्रिने गरेका छन् ।
वि.सं. २०६२ सालमा दोमुखा पर्यटकीय विकास संस्था स्थापना गरी उक्त क्षेत्रमा पर्यटकका लागि विभिन्न संरचनाहरु निर्माण गर्दै आएको छ ।
दोमुखा आउने पर्यटकहरूले वैष्णव देवीको दर्शन गर्दै कन्काई माई नदी तथा विभिन्न प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ ।
इलामको महमाई नगरपालिकासँग सीमा जोडिएको सो क्षेत्रमा देखिने हरिया चुरे पहाड, कनकाई नदीमा ड्यामबाट झरेको पानी, नदी किनारमा रहेको समथल भू–भागमा बनाएको कृत्रिम उद्यान नै पर्यटकका लागि थप आकर्षणका केन्द्र हुन् ।
विशेषगरी मङ्सिर, पुस, माघ र फागुन महिना वनभोजको महिना भएको हुँदा दैनिक आन्तरिक तथा बाह्य गरी २ हजार ५०० पर्यटक आउने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनबहादुर लावतीले जानकारी दिए ।
पछिल्लो समय शिवसताक्षी नगरपालिका र प्रदेश सरकार केन्द्रिय सरकारबाट विनियोजित बजेटले गौतम बुद्धको पूर्ण कदको मूर्ति, हात्ती, घोडा, चिम्पाजीको स्ट्याचु लगायत र केटाकेटीका लागि विभिन्न प्रकारका खेल सामाग्रीहरु निर्माण गरिएको अध्यक्ष लावतीले जानकारी दिए ।
दोमुखा आसपासमा पर्यटकहरुका लागि होटल व्यवसायीहरुले सुविधा सम्पन्न होटल तथा लजहरु साना ठुला गरी दर्जन बढी सञ्चालनमा ल्याएका छन् । होटलमा कनकाई नदीमा पाइने माछा, घुँगी, गङ्गटाहरुको परिकार समेत पाइने होटल व्यवसायीहरु बताउँछन् ।
दोमुखा क्षेत्रलाई धार्मिक र पर्यटकीय गरि दुवै नामले चिनिन्छ । यो दोमुखा क्षेत्रको वरपर वसोवास गर्ने मानिसहरु राइ ( लिम्बू , मगर र ब्राह्मण क्षेत्री समुदायको रहेको पाइन्छ । पर्यटन विकास व्यवस्थापनका सदस्य फणिन्द्र राईका अनुसार दोमुखा पर्यटन क्षेत्र करिब १४ विगाह क्षेत्रफलमा फैलिएको छ ।
दोमुखाबाट कनकाई नगरपालिकको धनुष्कोटी धाम जोड्ने कनकाई नदिमा झोलुङ्गे पुल बनेपछि पर्यटकको सख्यामा बृद्धि भएको दोमुखा पर्यटन विकास व्यवस्थापन संस्थाले जनाएको छ । त्यस्तै शिवसताक्षी नगरपालिका प्रदेश सरकारको सहयोगमा स–साना बालबालिकाहरुलाई लक्षित गरी चिल्डे«न पार्क समेत निर्माण गरिएको छ ।
दोमुखा क्षेत्रको विकास प्रवद्र्धनका लागि सङ्घीय र स्थानीय सरकारले चालू आर्थिक वर्षमा रु ४०/४० लाख रकम विनियोजन गरेको छ । शिवसताक्षी नगरपालिकाले नगर भित्रका पर्यटकीय क्षेत्र विकास लागि गुरु योजना बनाई काम सुरु गरेको नगरपालिकाले जनाएको छ । हाल भइरहेको जतिपनि संरचनाहरु छन् सबै गुरु योजना अन्तर्गत नै बनाएको हो । यसै क्रममा २३ करोड लगानीमा सो क्षेत्रको पर्यटन पूर्वाधार विकास अगाडि बढेको छ ।
दोमुखामा बार्षिक ३५ देखि ४० लाख सम्म आम्दानी हुने गरेको दोमुखा पर्यटकी विकास संस्थाले जनाएको छ। कोरोना भाइरसको कारण केही समय थलिएको दोमुखा स्थिति सामान्य भएसँगै चलामान हुने देखिन्छ ।
प्रशिक्षार्थी : निरु राई
Comments