Sajhamanch Archive

सहिद सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइयो

Published: in विविधा, समाज by .

झापा । २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ ।

नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज विश्वास स्मृति पार्कमा जन्म जयन्ती मनाइएको हो ।

सहिद सुरज विश्वासको अर्धकदको सालिकमा माल्यार्पण, पार्कमा वृक्षारोपण र सहिद आमालाई सम्मान गरी पहिलो पटक जन्म जयन्ती मनाएका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार र भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले सहिद आमा मिना विश्वासलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका मेयर श्रेष्ठले सहिद सुरज विश्वासले दिएको बलिदानको कदर गर्दै सहिद परिवारलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बंगाली समुदायबाट एक मात्र सहिद भएका व्यक्ति भद्रपुरकै रहेको बताउँदै उनले भने, बंगाली समुदायको हक अधिकार सुनिश्चित, कला , संस्कृति र भाषा जगेर्ना गर्नका लागि स्थानीय सरकार तयार रहेको बताए । नगरपालिकाले सहिद सुरज विश्वासको भिडियो डकुमेन्ट्री बनाइदिने पनि उनले घोषणा गरेका छन् ।

त्यस्तै नगरपालिकाकी उपमेयर चन्द्रामाया श्रेष्ठले सहिद आमालाई नगरपालिकाले मासिक रुपमा १० हजार दिने कार्यपालिका बैठकले निर्णय गरिसकेको बताइन् । बंगाल समुदायले आफ्नो हक अधिकारका लागि अहिले देशव्यापी अभियान सुरु गरेको छ, त्यसमा हाम्रोतर्फबाट पूर्ण सहयोग रहने उनले बताइन् ।

समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर ६ नम्बर वडा अध्यक्ष प्रेम बरुवाल, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, बंगाली समाजका सांस्कृतिक, कला तथा साहित्य विभागका संयोजक सन्तोष सरकार लगायतले मन्तव्य राखेका थिए ।
केन्द्रीय सदस्य अनुप रायले सहिद सुरज विश्वासको जीवनीमाथि प्रकाश परेको कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय उपाध्यक्ष विप्लव घोषले गरेका थिए ।

सहिद सुरजको जन्म २०३७ साल असोज २९ गते भएको थियो । बडादसैँ सुरु भइसकेको र असोज २९ गते टिका लगाउने दिन परेकोले एक साता अघि जन्म जयन्ती मनाउनु परेको केन्द्रीय सदस्य पार्थ मण्डलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *