Sajhamanch Archive

 स्वाइनफ्लु नियन्त्रणका लागि चिकित्सक टोली पठाउन सांसदको माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं ।  प्रतिनिधिसभाका सांसदहरुले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकहरुको विशेष टोली परिचालन गर्न सरकारसँग माग गरेका छन।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तेजुलाल चौंधरी र नमिताकुमारी चौंधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गरेका हुन्।

सांसद तेजुलाल चौंधरीले स्वाइनफ्लुको महामारीबाट ४ जनाको ज्यान गइसक्दा पनि सरकारले सो रोगको प्रकोप नियन्त्रणमा चासो नदिएको भन्दै आक्रोशसमेत व्यक्त गरे।

अर्की सांसद नमिताकुमारी चौधरीले सो रोग नियन्त्रणका लागि आवश्यक चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सांसद दुर्गाकुमारी विश्वकर्माले पोखराकी १३ वर्षीया किशोरी पुष्पा केसीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि सरकारसँग माग गरिन्। उनले बेगनास तालमा डुंगा दुर्घटनामा परी ज्यान गएका ८ जनाका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्।

यसैगरी, सांसदहरुले बाढी, पहिरोले बगाएको सडक तत्काल निर्माण गर्न पनि सरकारसँग माग गरेका छन्। सांसद देवप्रसाद गुरुङले लम्जुङको उत्तरीभेगमा आएको पहिरोले बगाएको सडक बाटो तत्काल निर्माण गर्न सरकारसँग माग गरे। सांसद पार्वत गुरुङले बहुवर्षीय योजनाको रूपमा रहेको सडक निर्माण कार्यलाई निरन्तरता दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद नवराज सिलवालले नेपालको विभिन्न बैंकमा रहेको करिब ८ करोड हजार र पाँच सय दरका भारतीय नोट भारतसँग सटहीका लागि पहल गर्न अर्थ मन्त्रालयसँग माग गरे। भुटानमा रहेको हजार र पाँच सय दरका भारतीय नोट सटही गर्ने भारत सरकारले नेपालको भने नसाटेकोमा उनको आपत्ति छ।

नुवाकोटका सांसद नारायणप्रसाद खतिवडाले दुप्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले बस्ती जोखिममा परेकाले ती बस्तीहरुको उचित ठाउँमा स्थानान्तरण गर्न सरकारसँग माग गरे। अर्की सांसद पुष्पा भुसालले अर्घाखाँचीमा बाघका कारण १२ जनाभन्दा बढीको ज्यान गएको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रणमा लिन सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

थाहाखबर

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *