Sajhamanch Archive

देशभर विप्लव बन्दको प्रभाव, अहिलेसम्ममा ५३ जना पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको ‘नेपाल बन्द’ का कारण आज बिहानैदेखि संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

दैनिक बाक्लो संख्यामा सवारीसाधन गुड्ने काठमाडौं उपत्यकाका सडक लगभग सुनसान छन्, मोटरसाइकल जस्ता निजी सवारीसाधन मात्र फाटफुट चलेका छन् । यस्तै देशको एउटा प्रमुख सहर पोखराका सडक पनि सुनसान भएका छन् । मंगलबार बिहानैदेखि पोखरामा लामो र छोटो दूरीका गाडी चलेका छैनन् । फाट्टफुट्ट मोटरसाइकल भने चलेको जनाइएको छ ।

यस्तै बन्दका कारण तनहुँ र चितवनलगायत जिल्लाको जनजीवनमा पनि बिहानैदेखि असर परेको छ । तर सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले चितवनमा भने बन्दकर्ताले सवारीसाधन आवागमनमा खासै अवरोध पुर्‍याउन नपाएको त्यहाँको प्रहरीले दाबी गरेको छ ।

यस्तै बन्दले प्रदेश १ मा पनि मंगलबार बिहानैदेखि सार्वजनिक सवारीसाधन चलेका छैनन् । मंगलबार बिहानै लामो दूरीबाट आएका सवारीसाधन गन्तव्यमा पुगेका भए पनि छोटो दूरीका गाडी चल्न नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् ।

अहिलेसम्म ५३ बन्दकर्ता पक्राउ
अहिलेसम्म प्राप्त रिपोर्टअनुसार काठमाडौंसहित देशका विभिन्न स्थानबाट गरी विप्लवका ५३ जना नेता÷कार्यकर्ता पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले दिएको जानकारीअनुसार पार्टीले आह्वान गरेको नेपाल बन्द सफल पार्न हिँडिरहेको अवस्थामा महाराजगञ्जबाट ३ र साँखुबाट ३ जनालाई नियन्त्रणमा लिइएको हो ।

यस्तै पोखरामा पनि बन्द गर्दै हिँड्ने विप्लवका दुई जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै चितवनमा र तनहुँमा गरी विप्लवका २१ कार्यकर्ता पक्राउ परेका छन् । चितवनमा अनेरास्ववियु क्रान्तिकारीका बागमती प्रदेश इन्चार्ज राजन साउदसहितका १० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै तनहुँमा पनि बन्दमा संलग्न विप्लवका ११ कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै इटहरीमा पनि बन्द गराउँदै हिंडेका विप्लवका २४ जना कार्यकर्ता पक्राउ गरिएको कार्यकर्तालाई इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *