सिम्रिक साकोसको सेवाकेन्द्रगत साधारणसभा धमाधम
Published:
by .झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्रगत साधारणसभा मंसीर १४ गतेदेखि धमाधम भइरहेको छ ।
झापाका सवै पालिकाहरु, इलामका ४ वटा र मोरङका ३ वटा पालिकामा सेवाकेन्द्र रहेको सिम्रिक साकोसले ३० स्थानमा सेवाकेन्द्रगत साधारणसभा सञ्चालन गर्दै आएको छ । दैनिक ६ वटा सेवा केन्द्रको साधारणसभा गर्नेगरी मंसिर १४, १६, १७, १८ र १९ गतेका लागि तालिका तय गरेको बताइएको छ । हाल संस्थाका ३३ वटा सेवा केन्द्र सञ्चालनमा रहेको जनाइएको छ ।
सेवा केन्द्रगत साधारणसभाबाट प्रतिनिधि चयन गरी संस्थाले माइन्युट प्रमाणित गर्न मंसिर २५ गते साधारणसभा हुने जनाइएको छ । आज संस्थाको खुदुनाबारी, शनिश्चरे, दानाबारी, टाघनडुब्बा र सुरुङ्गा सेवा केन्द्रमा पनि स्थानीय साधारणसभा सम्पन्न भएको जनाइएको छ । यही शिलशिलामा आज बिहीबार संस्थाले लक्ष्मीपुरले सेवा केन्द्रगत साधारणसभा सम्पन्न गरेको छ ।
लक्ष्मीपुरस्थित बिहीबारे बजारको दुर्गा पाञ्चायन मन्दिरमा संस्थाका सञ्चालक समिति सदस्य लीला मुखिया अधिकारीको अध्यक्षतामा सेवा केन्द्रस्तरको साधारणसभा गरिएको हो । सो कार्यक्रममा उनले संस्थाको वित्तीय अवस्थितिसहित नीति, कार्यक्रम र बजेट समेटिएको वार्षिक प्रतिवेदन वाचन गरेकी थिइन् ।
सञ्चालक समिति सदस्य अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक बर्ष २०७७/०७८ असार समान्तसम्ममा संस्थामा ३७ हजार ५६६ जना शेयर सदस्य, २४ करोड ६६ लाख २१ हजार ८०० रुपैयाँ शेयरपुँजी पुगेको जनाइएको छ ।
त्यस्तै ५ अर्ब ६५ करोड ९२ लाख ९८ हजार ६४३ बचत संकलन, ४ अर्व ८२ करोड १२ लाख ४० हजार २५२ रुपैयाँ फिर्ता गरी ८३ करोड ८० लाख ५८ हजार ३९१ रुपैयाँ निक्षेप मौज्दात रहेको जनाइएको छ ।
संस्थाले गत असार मसान्तमा ३ अर्व ९६ करोड १ लाख ७७ हजार २६८ रुपैयाँ कर्जा लगानी गरेको र सो अवधिमा २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ नाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य राहत कार्यक्रममा १ करोड ३६ लाख ७३ हजार ५५२ रुपैयाँ, सदस्यको स्वास्थ्य उपचारमा ४७ लाख ५ हजार ७६७ रुपैयाँ तथा बिभिन्न रोगका कारण मृत्यु भएका सदस्यको नाममा बक्यौता रहेको कर्जा मिनाहा वापत ५५ लाख १६ हजार १६६ रुपैयाँ खर्च गरिएको सञ्चालक सदस्य मुखियाद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कनकाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष प्रेमबहादुर कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न सेवा केन्द्रगत साधारणसभामा मन्तब्य राख्दै उनले ब्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउन नेपालका सहकारी संस्थाहरुको योगदान उच्च रहेको बताए ।
यस्तै अर्का वक्ता कनकाई नगरपालिकाका कार्यपालिका सदस्य सुनिता खरेल सिग्देलले भविष्यको सुरक्षाका लागि बचत गर्ने बानीको विकास हुनुपर्नेमा जोडदिँदै सिम्रिक सहकारीका कार्यक्रमहरु मन परेकाले आफू संस्थाको सदस्य बन्न इच्छुक रहेको बताइन् । सामाजिक आर्थिक रुपान्तरणमा सिम्रिक साकोसको योगदानको प्रशंसा गर्दै सहकारी संस्था उसका सदस्यको अभिभावक बन्नुपर्नेमा जोड दिइन् ।
साधारणसभा उद्घाटन समारोहमा बोल्दै साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले सहकारीको सदस्य बनेर कति लाभांश पाइयो, कति ब्याज पाइयो भनेर सोध्ने दिन गए भन्दै कुन सहकारीले सदस्यको रकमको सुरक्षा गर्छ र कुन सहकारीले राम्रो सुविधा प्रदान गर्छ उतैतिर मोडिन थालेको बताए ।
लक्ष्मीपुर सेवा केन्द्र प्रमुख इन्दिरा भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख मिनबहादुर अधिकारीले गरेका थिए ।
Comments