Sajhamanch Archive

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट ६९मा झर्‍यो, नेपालमा नघट्ने

Published: in अर्थतन्त्र, by .

काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेको छ। इन्धनको कच्चा पदार्थका रुपमा प्रयोग हुने कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट निरन्तर घट्दै ६९ डलरप्रतिब्यारेलमा पुगेको हो।

केही दिन अघि ८५ डलर प्रतिब्यारेल पुगेको ब्रेन्ट क्र्युडको मूल्य आइतबार प्रतिब्यारेल ६९.८८ डलर रहेको ओइलप्राइस डटकमले उल्लेख गरेको छ।

पछिल्लो समय विभिन्न देशमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएका कारण आवतजावतमा आएको कमीले मूल्यमा गिरावट आएको हुनसक्ने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

त्यसैगरी कच्चा तेल उत्पादन गर्ने मुलुकहरूको संगठन ओपेक र उसका सहयोगीहरूले नयाँ वर्ष २०२२को जनवरी देखि नै तेल उत्पादन बढाउने घोषणा गरेकाले मूल्यम गिरावट आएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यसअघि कोभिड १९को महामारीका कारण विभिन्न मुलुकमा बन्दाबन्दी गरिएका कारण अघिल्लो वर्ष कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको थियो। पछिल्लो समय विभिन्न मुलुकले बन्दाबन्दी खुकुलो बनाएसँगै कच्चा तेलको मूल्य ८५ डलरसम्म पुगेपनि पछिल्ला केही दिनयता घट्न थालेको छ।

नेपालमा घट्दैन मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पछिल्लो समय निरन्तर मूल्य बढाउँदै गएको नेपाल आयल निगमले भने पछिल्लो समय घट्दा मूल्य नघटाउने जानकारी गराएको छ।

निगमले गत बिहीबार विज्ञिप्त जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्यघटेपनि नेपाल आयल निगमको नोक्सानीमा फरक पर्ने गरी मूल्य नघटेकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघट्ने जानकारी गराएको हो।

पछिल्लो समय आएको मूल्य सूची अनुसार नेपालमा निगमलाई पाक्षिक नोक्सान १ अर्ब ९७ करोड रुपैयाँ रहेको भन्दै मूल्य नघट्ने निगमले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ डलरका दरले पुगेमा मात्रै निगमले नोक्सानी बेहोर्ने अवस्था हट्ने र सो भन्दा तल पुगेमा मात्रै निगमले मूल्य घटाउन सकिने निगमका अधिकारीहरु बताउँदै आएका छन्।

निगमले जारी गरेको विज्ञिप्तमा निगमले पछिल्लो समय पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ३५ पैसा, डिजेलमा ७ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा ७५८ रुपैयाँ २५ पैसा घाटा भइरहेको उल्लेख गरेको छ।

नेपाल समय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *