काठमाडौं महानगरले ३ दिने कार्यक्रमसहित महानगर दिवस मनाउने
Published:
by .काठमाडौं- काठमाडौं महानगरपालिकाले मङ्सिर २७, २८ र २९ गते २७औं महानगर दिवस मनाउने भएको छ। सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित महानगर दिवस मनाउन लागेको हो।
दिवसका अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिने र १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए। मङ्गलबार महानगर दिवस मूल समारोह समितिका अध्यक्ष शाक्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सोही अवसरमा ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितासमेत हुने मेयर शाक्यले बताए। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको अन्तिम दिन २९ गते वसन्तपुरमा मूल समारोह आयोजना हुनेछ।
त्यस दिन परम्परागत बाजा गुरु, कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कारहरू वितरण गरिने जनाएको छ। कोभिड सङ्क्रमणको दर हेरेर कार्यक्रम हेरफेर हुन सक्ने पनि महानगरले जानकारी दिएको छ।
‘महानगर दिवस नागरिकले अपनत्व बोध गर्ने खालको बनाइनेछ। नागरिकका बीचमा बसेर दिवस मनाउने प्रबन्ध गरिनेछ,’ मेयर शाक्यले भने।
Comments