बागमतीमा मन्त्रिमण्डल विस्तार, यी पाँच मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
Published: (Updated: )
by .काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन्। नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादीबाट तीन मन्त्री थपिएका छन्।
उनीहरूले मंगलबार साँझ नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। नेपाली कांँग्रेसबाट पनि शपथ गराउने भनिएपनि महाधिवेशन चलिरहेकाले रोकिएको एक सांसदले बताए।
माओवादी केन्द्रबाट विशाल खड्काले वन तथा वातावरण, रत्नप्रसाद ढकालले युवा तथा खेलकुद र घनश्याम दाहालले श्रम, रोजगार तथा यातायात मन्त्रीको शपथ लिएका छन्।
खड्का दोलखा, ढकाल काभ्रे र दाहाल चितवनबाट निर्वाचित सांसद हुन्। यस्तै, एकीकृत समाजवादीबाट बसन्त मानन्धरले खानेपानी र बसुन्धरा हुमागाईंले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको शपथ लिएका छन्।
साथै, इन्द्रमाया गुरुङले कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्रीको शपथ लिएकी छिन्। मानन्धर काठमाडौंबाट निर्वाचित सांसद हुन भने हुमागाईं काभ्रेबाट निर्वाचित सांसद हुन्। गुरुङ समानुपातिक सांसद हुन्।
यसअघि बागमी प्रदेश सरकारमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री बनिसकेका छन्।
यस्तै, माओवादी केन्द्रका संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला तथा कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्री छन्।
Comments