Sajhamanch Archive

नेपालको विजुली बंगलादेशले खरिद गर्ने, निजी क्षेत्रसँग सीधै पीपीए गर्ने तयारी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।

नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो । यसबाट ५ अर्ब नोक्सान भएको छ । पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो ।

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताए । ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभएर खेर गइरहेको अवस्था छ,’ उनले भने, ‘त्यो विद्युत हामी खरिद गर्न सक्छौँ ।’

हमिदले नेपालबाट विद्युत आयातका लागि प्रसारण लानइको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए ।

जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न हुने भएको छ । ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,’ उनले भने ।

बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग सीधै विद्युत खरिद सम्झौता ९पिपिए० गराउने गृहकार्य सुरू गर्ने भएको हो ।

भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत व्यापारको ढोका खुलेको छ । यो कार्यविधिले अन्तरदेशीय विद्युत व्यापारमा नियमन र कानुनी संयन्त्र सम्बन्धी द्विविधाको अन्त्य गरेको छ।

नेपालको बिजुलीको संभाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ ।

बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ । नेपालमा उत्पादन हुने विद्युत बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे ।

परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत उत्पादन र विद्युत खपतको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

ढाकामा भएको भेटमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे एवं राष्ट्रिय परिषद् सदस्यहरू लक्ष्मीप्रसाद सुवेदी, भीमप्रसाद घिमिरे, द्विराज शर्मा र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलको उपस्थिति थियो ।

यसैगरी नेपाली राजदूतावास ढाकाका कार्यबाहक राजदूत कुमार राई र परिसंघका महानिर्देशक यादवप्रसाद पौडेल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *