सर्लाहीमा आगोले जलेर दुई बालिकासहित तीन जनाको मृत्यु
Published:
by .सर्लाही, सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको कविलासी नगरपालिकामा आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो ।
आगलागीबाट जलेर गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौंतर्फ लैजाँदै गर्दा बिहीबार बिहान ३ बजेतिर बाटोमा नै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक LएसपीL कृष्ण प्रसाईले जानकारी दिए ।
आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी पनि घाइते छन् । सामान्य घाईते सुधा भने स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेकी छिन् । प्रहरीका अनुसार बुधबार राति ९: १५ बजेतिर चमार परिवारको घरमा आगलागी भएको हो ।
आगलागी गाउँले र प्रहरी मिलेर आधा घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर पूर्णरुपमा नष्ट भएको छ ।
आगलागीबाट दुई सन्तान गुमाएको चमार परिवार घर समेत जलेर खरानी भएपछि बिचल्लीमा परेको छ । पीडितको खुला आकाशमुनी बास भएको छ ।
यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर ताप्नेक्रममा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ।
बुधबार राती ११:३० बजेतिर बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते हुनुभएकी ७० वर्षीया नसिर खाँ को उपचारका क्रममा जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको हो ।
खाँ को बिहीबार बिहान ७:१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक वृद्धाको शव जिल्ला अस्पतालमै छ ।
सर्लाहीमा केही दिनदेखि लगातारजसो आगलागीका घटना भइरहेका छन् । एक साताको अवधिमा जिल्लाका आधादर्जन भन्दा बढी स्थानमा विद्युत् सर्ट भइ र घुर बाल्नेक्रममा आगलागी भएका छन् ।
Comments