ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीपलाई कप्तानकाे जिम्मेवारी
Published:
by .काठमाडौँ, नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ ।
क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ ।
क्यानले जारी गरेको विज्ञप्तिमा कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिलाको लागि सहभागि नगराउने निर्णय पनि गरेको छ ।
क्यानले यसअघि गरेको खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विषयलाई लिएर मल्लसहित चार खेलाडीले सार्वजनिक रुपमा गुनेसो गर्दै आएका थिए । खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यवहारिक नभएको कारबाही गरिएका खेलाडीको भनाइ थियो ।
खेलाडीसँग क्यानले स्पष्टिकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडीले आचार संहिता समेत पालना नगरेकोले कारबाही गरिएको क्यानले जनाएको छ ।
यसैगरी क्यान बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण डिसेम्बर २१ देखि पोखरामा गर्ने, नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने, संघका पूर्वअध्यक्ष नरेश श्रेष्ठलाई क्यान सल्लाहकार समितिमा चयन गर्ने निर्णय पनि गरेको छ ।
Comments