एमालेसहितको सहमतिमा एमसीसी पारित हुन्छ : कांँग्रेस सहमहामन्त्री परियार
Published:
by .काठमाडौं– नेपाली कांँग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसद्बाट एमसीसी पारित गराउने दाबी गरेका छन्।
सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतिमा संसद्बाट पारित गराउने विश्वास व्यक्त गरे।
पोखरा, नेपाल प्रेस युनियन, कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।
सहमहामन्त्री परियारले एमसीसीको बारेमा सत्तारुढ दलहरुलाई एकढिक्का बनाएर आफ्नो पार्टीले लैजाने बताए। ‘नेपालमा एमसीसीको बजेट आउन झण्डै २० वर्ष अगाडिदेखि विभिन्न खालका सरकारहरुले काम गरेका छन्। यो काम गर्ने सन्दर्भमा नेपालको कुनै पनि राजनीतिक दल अछुतो छैन।
त्यसैले म छोटकरीमा भन्न चाहन्छु–एमसीसीले नेपालमा जुन डोनेट गरेर आएको पैसा हो। त्यो पैसा नेपालको विकास र समृद्धिका लागि आएको पैसा हो’, उनले भने, ‘प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको समेत सहमति गराएर मात्रै एमसीसी पास हुन्छ। यो कुरामा म विश्वास दिलाउन चाहन्छु।’
सहमहामन्त्री परियारले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच आवश्यक्ताको आधारमा सहकार्य हुने पनि स्पष्ट पारे। सबै निर्वाचन क्षेत्रमा भने सत्तारुढ दलहरुबीच सहकार्य गरेर निर्वाचनमा जान सक्ने अवस्था आफूले नदेखेको उनको भनाइ छ।
Comments