नेपालमा थप एकजनामा ओमिक्रोन पुष्टि, २४ घण्टामा २१७ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु
Published: (Updated: )
by .काठमाडौं । नेपालमा थप एकजनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो केस हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङका क्रममा नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन् ।
उनी अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको मन्त्रालयले जनाएको छ ।
यसअघि, बेलायतबाट नेपाल आएका एकजना विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि भएको थियो । हाल उनीहरू संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चार हजार जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा २७२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७९ पुगेको छ ।
यसैगरी देशभर हालसम्म पाँच हजार १८५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Comments