Sajhamanch Archive

करोडका नमूना बस्तीबाट हौसिएका धुर्मुस-सुन्तली अर्बको योजनामा यसरी चुके

Published: in खेलकुद, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं– हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्दा ताली मात्र होइन, गाली पनि पाएका थिए। गालीको स्वर सानो थियो। उनीहरूले चितवनको भरतपुरमा २०७५ माघ १६ देखि रंगशाला निर्माणको कामै सुरु गरे।

त्यति बेला कतिपयले अरुसँग ‘चन्दा’ जुटाएर समाजसेवा नहुने तर्क गरेका थिए। कतिपयले भने ‘उनीहरूको काम कलाकर्म भएकाले त्यही गर्न’ सुझाएका थिए। अनि, केहीले ठूलो आयोजना भएकाले पार लगाउने विषयमै शंका गरेका थिए।

यो शंका यथार्थमा परिणत भएको छ। उनीहरूले क्रिकेट रंगशाला निर्माणको कामबाट हात झिकेका छन्। धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकालाई पत्र लेख्दै ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि भएको सम्झौताअनुरुप सबै जिम्मेवारी लिन अनुरोध गरेको छ।

हालसम्म आफूहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेसन’मार्फत रंगशाला निर्माणको काम ३५ प्रतशित पूरा गरेको उनीहरूको भनाइ छ। विषम परिस्थिति सिर्जना भएको र करोडौँ रुपैयाँ ऋण भएकाले काम अघि बढाउन नसक्ने उनीहरूले पत्रमा उल्लेख गरेका छन्।

धुर्मुस(सुन्तलीको समाज सेवा अभियानमा यो सबैभन्दा धेरै लगानी हुने महत्वाकांक्षी आयोजना थियो। त्यसअघि उनीहरूले सरसफाइदेखि नमूनावस्ती निर्माणलगायत कार्य गरेका थिए।

तर, रंगशाला निर्माणमा भने उनीहरू सफल भएनन्। अहिलेसम्म १६ करोड उधारो तिर्न बाँकी रहेको फाउन्डेसनले जनाएको छ। आर्थिक संकट भएपछि पाँच महिनादेखि रंगशाला निर्माणको काम रोकिएको छ। यसअघि कोरोना महामारीको बेला र चाडबाडमा समेत काम रोकिएको थिएन।

कलाकारिताबाट समाजसेवाको यात्रा
२०७२ सालमा भुकम्प आउनुअघि धुर्मुस र सुन्तली समाज सेवामा सक्रिय हुँदै थिए। बागमती सरसफाइ अभियानदेखि सडक सफाइसम्ममा उनीहरू संलग्न भए।

२०७१ माघ २१ मा सरकारले उनीहरूलाई ‘सरसफाइ सद्भावना दूत’ घोषणासमेत गरेको थियो। २०७२ मा ‘राष्ट्रिय सरसफाइ अभियान–२०७२’ अन्तर्गत पूर्व–पश्चिम राजमार्ग सफाइमा पनि उनीहरू जोडिएका थिए।

उनीहरूले टेलिभिजन कार्यक्रम ‘मेरी बास्सै’बाट नाम कमाएका थिए। देशविदेशमा राम्रो क्रेजु थियो। स्टेज कार्यक्रममा भ्याइनभ्याइ थियो। टेलिभिजनमा स्थापित धुर्मुसले विस्तारै फिल्ममा हात हाले।

२०७० मा धुर्मुसले अभिनय गरेको फिल्म ‘छ एक्कान छ’ले राम्रो व्यापार गरेको थियो। २०७१ वैशाखमा प्रदर्शनमा आएको ‘नाइ नभन्नु ल(२’मा पनि धुर्मुसको अभिनय थियो। त्यसपछिको ‘वडा नम्बर ६’को लोकप्रियताले धुर्मुसलाई सामाजिक कार्यमा लाग्दा राम्रै सहयोग पुग्यो।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भने धुर्मुस(सुन्तलीले कलाकारिताभन्दा बढी सामाजिक काममा ध्यान दिए। भूकम्प जाँदा उनीहरू सांस्कृतिक कार्यक्रमका लागि अमेरिकामा थिए। भूकम्पपछि बाँकी कार्यक्रम स्थगित गरेर नेपाल फर्किए।

नेपाल फर्किनुभन्दा केही दिनअघि सामाजिक सञ्जालमा राखेको भिडियोमा धुर्मुसले भनेका थिए( ‘देश रोइरहेको अवस्थामा हामी अमेरिकामा रम्ने, रमाउने, हाँस्ने, हसाउने कल्पना पनि गर्न सक्दैनौं।

यो दुःखद घडीमा हामी अमेरिकामा घोषणा भएका सम्पूर्ण कार्यक्रम स्थगित गरेर ती पीडितहरूलाई मलम लगाउन नेपाल फर्किदैं छौं।’

अमेरिकामा कार्यक्रममा जाँदा ‘धुर्मुस(सुन्तली सरसफाइ महाअभियान’को नाममा उठेको १६ लाख ५० हजार रुपैयाँ पनि भूकम्पमा घाइते र पीडित भएकालाई सहयोग गर्ने घोषणा गरे। उनीहरूले थप आर्थिक सहयोगका लागि आह्वान पनि गरेका थिए।

समाजसेवाका लागि कलाकारिताबाट टाढा
यहीबीचमा उनीहरुले सामाजिक कार्यका लागि ‘धुर्मुस(सुन्तली फाउण्डेसन’ बनाए। भूकम्पमा घर गुमाएकाहरूका लागि तीन ठाउँमा नमूना बस्ती बनाए।

उनीहरूले काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकास्थित डाँडाँगाउँमा भू्कम्पपीडितका लागि घर बनाइदिए। त्यस्तै, सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौर र महोत्तरीको बर्दिबासमा पनि एकीकृत नमूनाबस्ती बनाए। यी सबै काम उनीहरूले आफ्नै अगुवाइमा जुटाएको आर्थिक सहयोगबाटै गरेका थिए।

बर्दिबासमा निर्माण भएको एकीकृत नमूना मुसहर बस्ती निर्माणका लागि ७ करोड रुपैयाँ खर्च भएको उनीहरूले उल्लेख गरेका छन्। तीन वटै बस्ती निर्माणमा ११ करोडभन्दा धेरै रकम खर्च गरेको उनीहरूले जनाएका छन्।

समाज सेवामा सक्रिय भइरहेका धुर्मुस सुन्तली कलाकारिताबाट भने टाढा हुँदै गए। सामाजिक कार्यमा सक्रिय हुँदा टेलिभिजन श्रृङ्खला ‘मेरी बास्सै’मा देखिन पातलिएको थियो। यसैबीच, २०७२ भदौमा धुर्मुसले अभिनय गरेको फिल्म ‘वडा नम्बर ६’ प्रदर्शनमा आयो।

नमूना बस्ती निर्माणबाट चौतर्फी प्रशंसा पाएका धुर्मुस(सुन्तलीले २०७४ मा आफ्नो सामाजिक जीवनकै सबैभन्दा महत्वाकांक्षी योजना घोषणा गरे।

अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण घोषणा गरेका उनीहरूले २०७५ माघ १६ मा काम नै सुरु गरे। उसैगरी आर्थिक सहयोग जुटाएर बनाउने उनीहरूको योजना थियो। र‌ंगशालाको कुल लागत तीन अर्ब ५५ करोड अनुमान गरिएको थियो।

यस्तो छ रंगशालाको डिजाइन।
आयोजना घोषणापछि सीमित म्युजिक भिडियो र विज्ञापनबाहेकमा उनीहरूको उपस्थिति हुन छाड्यो। दुई वर्षसम्म रंगशाला निर्माणकै काममा व्यस्त हुँदा एउटा फिल्म भने बनाए।

२०७६ फागुन ९ मा धुर्मुस(सुन्तली दुवै जनाको अभिनय भएको फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनमा आयो। तर, सफल हुन सकेन। बरु, फिल्मकै आडमा धुर्मुस सुन्तलीले रंगशाला निर्माणका लागि रकम संलकन गरे। दर्शकलाई रंगशाला निर्माणको सपना देखाउँदै हलसम्म लैजाने प्रयास गरे।

गत भदौमा उनीहरूको अर्को नयाँ फिल्म सार्वजनिक भयो। ओटीटी माध्यम ‘ओहो एप’बाट ‘म त मर्छु कि क्या हो’ नामक फिल्म प्रदर्शनमा आएको थियो। ‘मेरि बास्सै’मै देखिएका बासी कथाहरूलाई लिएर धुर्मुस(सुन्तलीले यो फिल्म बनाएका थिए। यसले कुनै चर्चा बटुल्न सकेन।

यतिबेला रंगशाला निर्माणको कामले केही समय त गति लियो। तर, उनीहरूले आकलन गरेजस्तो आर्थिक संकलन हुन सकेको थिएन। धुर्मुस र सुन्तलीका लागि रंगशाला निर्माणको काम ‘घाँटीमा अड्किएको हाड’ जस्तै भयो। न निल्न सक्ने, न ओकल्न सक्ने। अन्ततस् कोभिड महामारीको विषम परिस्थितिका कारण भन्दै उनीहरुले आयोजनाबाट हात झिकेको घोषणा गरेका छन्।

करोडको आडमा देखिएको अर्बौँको ‘असफल सपना’
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालाको ३५ प्रतिशत काम पूरा गर्न ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको जनाएको छ। जसमध्ये १६ करोड रुपैयाँ ऋण रहेको फाउण्डेसनले भरतपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ।

भूकम्पपछि सुरु भएको धुर्मुस(सुन्तलीको समाजसेवाको यात्रामा उनीहरूले करोडको आडमा अर्बौँको सपना देखे। तीन वटा नमूना बस्ती निर्माणमा खर्च भएको रकम संकलन गर्न उनीहरू सफल भएका थिए।

तर, रंगशाला निर्माणको काम नमूना बस्ती निर्माणजस्तो सहज थिएन। रंगशालाको कुल लागत साढे तीन अर्ब रुपैयाँभन्दा बढी थियो। उनीहरूले एक अर्ब पनि जुटाउन सकेनन्।

यसबीच धुर्मुस(सुन्तलीले पटक(पटक आफ्ना दर्शक र शुभेच्छुकलाई ‘भावनात्मक’ रुपमा प्रभाव पारिरहे। कहिले पत्रकारकै अघि रोए त, कहिले रोएको भिडियो विभिन्न यु–ट्युब च्यानलमा आयो। उनीहरूले पटक(पटक सरकारले सहयोग नगरेको गुनासो पनि गरे।

गत भदौदेखि रंगशाला निर्माणको काम खर्च अभावमा रोकिएको थियो। अहिले उनीहरूले रंगशाला निर्माणको कामको जिम्मेवारीबाटै हात झिकेका छन्।

सीमित चलचित्र निर्माणको समय र सर्वसाधारणबीच टेलिभिजन लोकप्रिय भएको बखत उदाएका धुर्मुस(सुन्तलीको अबको यात्रा झन् कठिन देखिन्छ।

समाजसेवामै सक्रिय हुँदा हिजो उनीहरूलाई सहयोग गर्नेले रंगशालाको विषयलाई लिएर अविश्वास गर्ने निश्चित छ। हिजोजस्तो टेलिभिजन पछ्याउने दर्शक आज छैनन्।

सिनेमामा उनीहरूले भन्ने कथाहरू पनि ‘बासी’ भएको पछिल्लो फिल्म ‘म त मर्छु कि क्या हो’ले देखाएको छ। अब कलाकारिता र समाजसेवा दुवै बाटो हिँड्न उनीहरूलाई कठिन छ।

समाज सेवामा विश्वास गुमेको छ भने कलाकारितामा दर्शक गुमेका छन्। धुर्मुस–सुन्तलीका लागि अबको बाटो पक्कै सहज छैन। यसको एउटै कारण हो– जुन काम उनीहरुले गर्नै हुँदैन्थ्यो, त्यही काममा हात हाल्नु।

किनभने कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका बेला आममानिस दुई छाक टार्नै धौ–धौमा रहेका बेला उनीहरुले सरकारलाई रंगशाला निर्माणमा सहयोग गर्न अपिल गरिरहेका थिए। यो आफैमा एउटा मजाक थियो।

नेपाल लाइभ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *