Sajhamanch Archive

कांँग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

जनकपुर, नेपाली कांँग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका कृष्णप्रसाद यादव प्रदेश सभापति पदमा विजयी भएका छन्।

केही बेरअघि सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ भोटले उछिन्दै कृष्ण यादव कांँग्रेसको प्रदेश २ सभापति बनेका हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ।

रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई शेखर कोइरालाको समूहले पनि समर्थन गरेको थियो। निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो।

तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाए, पराजित रामसरोजले ८ सय ५५ मत ल्याए।

निर्वाचनमा संस्थापन पक्षबाट कांँग्रेस रौतहट सभापति कृष्ण यादव र निधि समूहबाट कांँग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवले प्यानलसहित उम्मेदवारी दिएका थिए।

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए। तर, यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि बिहीबार मतदान भएको हो।

बाँकी पदको नतिजा आउन बाँकी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *