बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे
Published:
by .काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज, शुक्रबार चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। बागमती प्रदेश सरकारका एक मन्त्रीले आज अन्तिमपटक मन्त्रिपरिषद् विस्तार हुन लागेको जानकारी दिए।
‘आज मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। यो अन्तिम विस्तार हो’, उनले भने, ‘सत्ता गठबन्धनमा रहेको कांँग्रेसको भागमा परेको मन्त्रालयमा नियुक्ति हुन्छ।’
बागमती प्रदेश सरकारले ८ वटा मन्त्रालय विभाजन गरेर १४ पुर्याएको थियो। यसअघि ११ मन्त्री र १ राज्य मन्त्री नियुक्त भइसकेका छन्।
आज ३ जना मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीको अन्तिम तयारी रहेको छ। भागबण्डाका लागि नै मन्त्रालय विभाजन गरिएको भन्दै चौतर्फी बागमती प्रदेश सरकारको आलोचना भइरहेको छ।
‘हामीले यसअघि नै १४ मन्त्रालय बनाउने निर्णय गरिसकेका छौं’, सरकारका ती मन्त्रीले भने, ‘सोही अनुसार आज विस्तार हुन लागेको हो।’
नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बनेको बागमती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र यसअघि नै सहभागी भइसकेको छ भने कांँग्रेसबाट भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्री नियुक्त भइसकेका छन्।
कांँग्रेसबाट राधा घले, बलराम सुवेदी, दीपेन्द्र श्रेष्ठ, सन्त चेपाङ र रजनी जोन्छेको नाम मन्त्री बन्ने चर्चामा छ। स्रोतका अनुसार चेपाङ र जोन्छेलाई राज्यमन्त्री बनाउने तयारी छ।
कांँसले अब हुने मन्त्रिपरिषद् विस्तारमा उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति तथा पर्यटन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।
Comments