Sajhamanch Archive

काँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक अघि पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गरेका छन् ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गरेका हुन् ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गरेका हुन् ।

मुख्यसचिव पौडेलले भने , “सभापति र पदाधिकारीहरूको छलफलमा शनिबार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे विमर्श भएको छ ।” उनका अनुसार काँग्रेसले शनिबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ ।

शनिबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेर बस्ने तयारी भइरहेको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम शनिबार बिहान ११ बजे रहेको बताए ।

मङ्सिर २४ देखि २८ गतेसम्म चलेको १४औँ महाधिवेशनबाट काँग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री देउवा निर्वाचित भएका थिए ।

उपसभापतिमा खड्का र गुरुङ, महामन्त्रीमा थापा र शर्मा निर्वाचन हुनुभएको छ । सहमहामन्त्रीमा डिना (महालक्ष्मी उपाध्याय, जीवन परियार, फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, बद्री पाण्डे, महेन्द्र यादव, किशोरसिंह राठौर र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । साथै विभिन्न क्षेत्रबाट दुई निर्विरोधसहित १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *