Sajhamanch Archive

नेप्सेमा ७१ अंकको उच्च वृद्धि, अधिकांश बीमा कम्पनीको सेयर मूल्यमा सर्किट, कारोबार पाँच अर्ब नाघ्यो

Published: in अर्थतन्त्र, by .

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा सूचीकृत अधिकांश बीमा कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा नेप्सेलाई पनि बीमा उपसूचकले उचालेको छ ।

आइतबार सेयर बजार परिसूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४३ अंकको विन्दुमा बन्द भएको छ । जीवन बीमा उपसूचक ९.७८ प्रतिशत र निर्जीवन बिमा उपसूचकमा ८.१७ अंकको वृद्धि हुँदा नेप्सेमा पनि उच्च अंकको वृद्धि भएको हो ।

यस्तै, उत्पादनमूलक उपसूचक ५.५३ प्रतिशत र लघुवित्त उपसूचक ३.५६ अंकले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.१९ प्रतिशतले बढेको छ ।

यता, हाइड्रोपावर र वित्त कम्पनी उपसूचकमा भने गिरावट भएको छ । वित्त कम्पनी उपसूचक १.१२ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.१२ प्रतिशतले घटेको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्लो केही सातायता दुईदेखि तीन अर्बको वरिपरि कारोबार भएको बजारमा आज पाँच अर्बमाथिको कारोबार भएको छ । आज नेप्सेमा ८६ लाख एक हजार ९५६ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब १७ करोड ३२ लाखको कारोबार भएको छ ।

लगानीकर्ता विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर क्षेत्रबाट बिमा कम्पनीतर्फ ‘स्वीङ’ भएको देखिन्छ । यसरी बजारमा लगानी स्वीङ हुनु सकारात्मक नभएको विश्लेषकहरु बताउँछन् ।

आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबारमा आएको र १३२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य घटेको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सर्किट मूल्यमा बन्द हुने २० वटै जीवन र निर्जीवन बिमा कम्पनी रहेका छन् ।

यता, गोर्खाज फाइनान्सको सेयर मूल्य भने सर्वाधिक ५.५७ प्रतिशतले गिरावट हुँदा माउन्टेन इनर्जीको सेयर मूल्य ३.११ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावरको २.९६ र विशाल बजार कम्पनीको सेयर मूल्य २.९५ प्रतिशतले घटेको छ ।

आज बजारमा कारोबार रकममा नबिल बैंकले लिड गरेको छ । बैंकको सर्वाधिक ३२ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको २६ करोड ६६ लाख ५२ हजार र नेपाल लाइफको १९ करोडको कारोबार भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *