Sajhamanch Archive

प्रदेश २ को राजधानी र नाम टुंग्याउन सभामुखको नेतृत्वमा १६ सदस्यीय समिति गठन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

जनकपुर, प्रदेश २ को स्थायी राजधानी र नाम टुंग्याउन प्रदेशसभाका सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो।

बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८ गठनको प्रस्ताव पेश गरेका थिए। जसलाई प्रदेश सभा सदस्यहरुले पारित गरेको हो।

समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन्। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन्।

प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी तोक्ने तथा नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न तथा सरोकारवालाहरुसँग छलफल अन्तरक्रिया गरी प्रदेश सभामा निर्णयार्थ पेश गर्ने विषय यकिन गरी सभामा प्रतिवेदन पेश गर्नेु, समितिको कार्यक्षेत्रबारे सभामुखले प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ।

समितिले आफ्नो कार्याविधि आफैंले व्यवस्थित गर्न सक्नेछ। समितिले आवश्यक देखेमा विशेषज्ञ लगायत सम्बन्धित व्यक्तिहरुको सहयोग लिन, स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल लगायतको कार्य गर्न सक्नेछ।

समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीहरुलाई आमन्त्रण गरी सहयोग लिन सक्नेछ।

समितिले कार्य प्रारम्भ गरेको मितिले पन्ध्र दिनभित्र प्रतिवेदन दिनुपर्ने छ। प्रदेश २ को नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्यमधेश नाम प्रस्ताव गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *