महाधिवेशनमा बाँकी टोली नेताबाट सामूहिक निष्कर्ष पेश
Published:
by .काठमाडौं, नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट पेश गर्ने क्रम जारी छ ।
माओवादी केन्द्रका प्रमुख सचितेक देवप्रसाद गुरुङले कमलादीस्थित प्रज्ञा भवनमा रिपोर्ट पेश गर्ने क्रम जारी रहेको जानकारी दिए । उनले बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा अहिलेसम्म करिब पाँच जनाले आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेको बताए ।
बुधबारदेखि रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको थियो । बुधबार ११ टोलीका संयोजकले आफ्नो रिपोर्ट पेश गरेका थिए । त्यस्तै, बिहीबार बाँकी १४ टोलीका संयोजकले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि प्रज्ञा भवनमा सुरु भएको हो ।
Comments