अध्यक्ष दाहालले जवाफ दिनु अघि बस्यो माओबादी स्थायी कमिटी बैठक
Published: (Updated: )
by .काठमाडौ, काठमाडौंको कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्र हलमै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
बैठक प्रज्ञा प्रतिष्ठानको भवनमा केही बेरअघि सुरु भएको हो। आज अध्यक्ष पुस्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदनबारे २५ समूहले दिएका सुझाव तथा उठाएका प्रश्नबारे बन्दसत्रमा जवाफ दिने कार्यक्रम छ। त्यसअघि स्थायी कमिटीको बैठक बसेको हो।
जारी स्थायी समिति बैठकमा प्रतिवेदनमा उठेका जिज्ञासाका जवाफ र नयाँ नेतृत्व चयनबारे छलफल हुने दाहालको सचिवालयले जनाएको छ।
दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षको प्रतिवेदनमाथि प्राप्त सुझावको जवाफ र नेतृत्व चयन प्रक्रियाबारेमा स्थायी समितिमा छलफल हुन्छ। त्यसले एउटा विधि बनाएपछि कसरी जाने निर्णय हुनेछ।’
सोमबार बन्दसत्रमा दाहालले पेस गरेको ४५ पृष्ठको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन बनेका २५ वटा समूहले धेरै किसिमका सुझाव दिएका छन्। साथै राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले पूरक प्रस्ताव र फरक मत पनि पेस गरेका छन्।
यी सबैलाई सम्बोधन गरेर अध्यक्ष दाहालले शुक्रबा दिउँसो १ बजे जवाफ दिने कार्यतालिका छ। स्रोतका अनुसार माओवादीको केन्द्रीय सदस्यको नाम पेस गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिने सम्भावना छ। माओवादीका १० वटा प्रदेश समिति छन्।
विधानअनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन्। त्यो केन्द्रीय समितिले बल्ल अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ।
प्रत्येक प्रदेशलाई क्लस्टर, भूगोल र जनसंख्यालगायत मिलाएर पठाउन निर्देशन दिने तयारी छ। ‘समावेशी, समानुपातिक रुपमा क्लस्टर मिलाएर नाम माग्ने र सोही नाम बन्दसत्रमा प्रस्ताव गर्ने तयारी छ’, स्रोतले भन्यो, ‘प्रत्येक प्रदेशसँग केन्द्रीय सदस्यको नाम पठाउन स्थायी समितिले निर्देशन दिने सम्भावना छ।
निर्वाचन वा सहमतीय जुनसुकै विधिबाट पनि प्रदेशहरुले केन्द्रीय सदस्यको नाम पठाउन सक्छन्।’ तर, त्यसरी नाम पठाउँदा जनसंख्या, भूगोल, त्यो क्षेत्रमा रहेको जनजाति आदिवासी, मधेसी वा अन्य कुनै समुदायको संख्याका आधारमा प्रस्ताव गर्नुपर्नेछ।
जारी स्थायी समितिको बैठकमा विधान संशोधन मस्यौदा समितिले पनि क्लस्टरबाट नयाँ केन्द्रीय समितिमा पठाउने नेताको नाम पेस गर्ने सम्भावना छ।
विधान संशोधन मस्यौदा समितिमा देव गुरुङ, विष्णुपुकार श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल छन्। हिजो सो समितिले तयारी नपुगेर नाम पेस गर्न सकेन।
माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा १७ सय प्रतिनिधि सहभागी छन्।
Comments