भेरी–बबई डाइभर्सनमा विद्युत् गृह निर्माण सुरु
Published:
by .सुर्खेत, राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको पहिलो चरणको करिब १२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।
बाँध र पावर हाउस निर्माणको दोस्रो चरणको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका अनुसार हालसम्म करिब ४९.५ प्रतिशत भौतिक प्रगति भएको छ ।
तेस्रो चरणमा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम हुनेछ । हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माणको चरणमा बाँध सञ्चालनका लागि आवश्यक विद्युतीय गेटलगायतका काम हुनेछन् ।
आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीका अनुसार, हाइड्रो मेकानिकल कामको जिम्मा चिनियाँ कम्पनी जेजियाङ ओरियन्टले पाएको छ ।
कम्पनीसँग दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार रुपियाँमा निर्माण सम्झौता भएको हो । इलेक्ट्रो मेकानिकलको टेन्डर प्रक्रिया सिँचाइ विभागमा रहेको र अन्तिम स्वीकृति हुन बाँकी रहेकाले त्यो पूरा भएपछि टेन्डर थालिने उनको भनाइ छ ।
आयोजनाका अनुसार, ३६ अर्ब ८० करोड ७७ लाख रुपियाँ लागतको आयोजनामध्ये हालसम्म १४ अर्ब सात करोड ५९ लाख रुपियाँ खर्च भइसकेको छ ।
यस्तै, वित्तीय प्रगति ३८.१ हासिल भएको छ । सरकारले आयोजनाका लागि चालु आर्थिक वर्षमा १० करोड ९१ लाख ७० हजार रुपियाँ खर्च गरेको छ ।
तेस्रो चरणमा साना काम
निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्नेगरी कामलाई अगाडि बढाइएको छ । तेस्रो चरणको काम थालिएपछि आयोजनाका लागि साना काममात्र बाँकी हुने र तोकिएको अवधिभित्रै ती काम पनि सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
भेरीको पानी बबईमा सुरुङमार्फत खसाइने सो आयोजनाका लागि भेरीमा १४ मिटर अग्लो र ११४ मिटर लामो बाँध निर्माणको काम भइरहेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा सो बाँध निर्माण भइरहेको छ ।
Comments