Sajhamanch Archive

चिसोले कठ्यांग्रिएर धनुषा र सप्तरीमा २ जनाको मृत्यु

Published: in प्रदेश तह, समाज, by .

जनकपुर, अत्यधिक चिसो र शीतलहरका कारण कठ्यांग्रिएर उनीहरुको मृत्यु भएको चिकित्सकले बताएका छन्।

मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका ४ का ६५ वर्षीय देवनारायण ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ की ६० वर्षीया समुद्रीदेवी यादव छन्।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए।

चिसोले कठ्याङ्ग्रिएका ठाकुरको भने उपचार अभावमा घरमै मृत्यु भएको महादेवा गाउँपालिकाका उपाध्यक्ष ममता यादवले जानकारी दिइन्।

विगत एक सातादेखि घाम नलाग्दा प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ।

चिसो बढेपछि पर्सा, रौतहट, धनुषा लगायका जिल्लाका केही स्थानीय तहले बिद्यालय बन्द गरेका छन्। चिसो बढेपछि सरकारी कार्यालयमा पनि नागरिकको चाँप कम भएको छ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।

क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका हुन्। चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम पनि बढेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *