Sajhamanch Archive

माटोको उर्वरा शक्ति बढाउन किसानलाई कृषि चुन वितरण

Published: in प्रदेश तह, समाज, by .

ढल्केवर, धनुषास्थित मिथिला नगरपालिकाले माटोमा सुधार ल्याउन किसानलाई कृषि चुन वितरण गरेको छ । परीक्षणको नतिजाअनुसार नगरपालिकाभित्रको खेतियोग्य ६५ प्रतिशत माटो बिग्रिएको अवस्थामा पाइएपछि माटोमा सुधार ल्याउन किसानलाई कृषि चुन वितरण गरिएको हो ।

पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा ५० किलोग्रामका दरले चार हजार नौ सय किसानलाई कृषि चुन बाँडिएको मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले बताए ।

कृषि शाखाले शिविर सञ्चालन गरेर तथा किसानको खेतबारीबाट माटो ल्याएर परिक्षण गर्दा माटोमा अम्लीयपनामा एकरुपता नभएको पाइएको थियो ।

माटोमा सरदर अम्लियपना ६.५ पीएच देखि ७ पीएचसम्म हुँदा उत्पादका लागि राम्रो मानिन्छ तर यहाँ कतै ५.५ पीएच अम्लीयपना देखियो भने कतै ८.५ पीएचसम्म अम्लीयपनाको मात्रा भेटिएको उनले जानकारी दिए ।

‘अम्लीयपना कम हुँदा माटोको अवस्थालाई खराब मानिन्छ भने बढी हुँदा पनि बिग्रिएको मानिन्छ, ‘कृषि शाखाका प्रमुख महतोले भने ।’ उनले विशेष गरी तरकारी खेती भएको खेतबारिमा अम्लीयपन बढि देखिएको जानकारी दिए ।

रासायनीक मल तथा विषादीको बढ्दो प्रयोग तथा बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना घट बढ हुन गई उर्वराशक्तिमा ह्रास आउने गरेको छ ।

माटोमा अम्लको मात्रा बढ्दै जानु चिन्ताको विषय भएको जनाउँदै यसको मात्रा घटाउन किसान पनि जागरुक बन्नुपर्ने प्रमुख महतोले भने । माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्न सकिन्छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाले जिल्लाको बटेश्वर गाउँपालिकामा माटो परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन र फस्फोरसको मात्रा कमी पाइएको थियो ।

पालिकाको ८० ठाउँको माटो परिक्षण गर्दा कृषि योग्य माटोमा नकारात्मक प्रभाव परेको परियोजनाका कृषि प्राविधिक राहुलदेव साहल बताए । उनले माटोमा भएको अम्लीयपनालाई सन्तुलनमा ल्याउन कृषि चुन छर्कनु उत्तम हुने बताए ।

विगत केही वर्ष यता माटोको अवस्थाबारेमा जानकारी तथा उपचार गराउन किसानको सङ्ख्या वृद्धि भएको छ । परीक्षण सुविधाको अभावले माटो उपचारका लागि चाहिने तत्वहरूको उपलब्धता कम रहेका कारण किसानहरू मर्कामा परिरहेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *