Sajhamanch Archive

प्रथम बहुउद्देश्यीय सहकारीको साधारणसभा धनुषकोटीमा

Published: in विविधा, सहकारी by .

धनुषकोटी । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो नवौं वार्षिक साधारणसभा झापाको पर्यटकीयस्थल धनुषकोटीमा शनिबार सम्पन्न गरेको छ ।

‘सहकारीः गरिबी निवारणको प्रमुख आधार, प्रथमसँगै समृद्धि’ भन्ने नाराका साथ वनभोजसहित आयोजना गरिएको साधारणसभाको उद्घाटन झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले गरेका थिए ।

संस्थाको शिक्षा उपसमितिका संयोजक फणिन्द्र दाहालले सञ्चालन र उपाध्यक्ष चेतनाथ उप्रेतीले स्वागत गरेको उद्घाटन समारोहमा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टिकाराम पाण्डेले विश्वव्यापी महामारी कोभिड–१९ को संकटका बाबजुत आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाले ३६ लाख ८६ हजार रुपैयाँ मुनाफा गरेको जानकारी दिए ।

प्रतिवेदन अनुसार आ. व. ०७७÷०७८ को असार मसान्तसम्मान संस्थामा ११७९८ जना शेयर सदस्य पुगेका छन् भने शेयरपूँजी ३ करोड सात लाख ११ हजार आठ सय पुगेको छ । संस्थाको निक्षेप संकलन ३२ करोड ३३ लाख १३ हजार ५८ रुपैयाँ र ऋण लगानी २९ करोड पाँच लाख ८६ हजार रुपैयाँ रहेको र संस्थाका विभिन्न कोषमा एक करोड १० लाख ६५ हजार चार सय एक रुपैयाँ रहेको अध्यक्ष पाण्डेले बताए ।

जिल्लाभरि सातवटा सेवाकेन्द्र रहेको संस्थाले झापाको सुदूर दक्षिणी कचनकवलमा प्रथम पाठशाला नामक सहकारी विद्यालय सञ्चालन गरिरहेको छ भने प्रथम पाठशालालाई झापाभरि विस्तार गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, विर्तामोड, बनियानी, घैलाडुब्बा र शिगञ्जमा इलेक्ट्रोनिक्स सामग्रीको पसल सञ्चालन भइरहेको अध्यक्ष पाण्डेले बताए ।

समारोहमा प्रमुख अतिथि साावाले शुभकामना मन्तव्य राख्दै सहकारी समृद्धका संवाहक भएकोले उत्पादनसँग जोडिनुपर्ने बताए । कृषि, उद्योग–व्यवसाय क्षेत्रमा सहकारीहरुले लगानी बढाउनुपर्नेमा साँसद साँवाको जोड थियो ।

यसैगरी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रथम साकोस बहुउद्देश्यअनुरुप सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै विपन्न परिवारको उत्थानमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।

विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले महामारीका बीच पनि संस्थाले उल्लेख्य नाफा गर्नु महत्वपूर्ण सफलता भएको भन्दै कारोबारको दृष्टिकोणले प्रथम बहुउद्देश्यीय सहकारी अब्बल सहकारीका रुपमा रुपान्तरित हुँदै गएको बताए ।

भद्रपुर नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेल र कचनकवल गाउँ बाल सञ्जालका अध्यक्ष मनिष बरालसमेतले शुभकामना मन्तव्य राखेको सो समारोहमा उत्कृष्ट सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *