Sajhamanch Archive

घन्टाघरमा हत्या गरिएका फैजानका भिनाजु थिए सुनसरीमा मारिएका खुर्शिद

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । बिहीबार सुनसरीको रामनगर भुटाहामा मारिएका पूर्वएमाले जिल्ला सल्लाहकार खुर्शिद आलम अन्सारी केही बर्ष अघि जामे मस्जिद काठमाडौं अगाडी दिउँसै हत्या गरिएका फैजान अहमदका नातामा भिनाजु पर्ने खुलेको छ ।

खुर्शिदको घर भुटाहामा हो भने फैजानको घर सुनसरीकै भोक्राहामा थियो । उक्त क्षेत्रमा मुस्लिम समुदायका नातेदारहरूको ठूलो बस्ती छ । यसहिसाबले खुर्शिद हत्या मुम्बई बम हमला, नक्कली नोट कारोबार र भारतीय एजेन्सीको संलग्नतासँग जोडिन्छ ।

फैजानको हत्या पनि मोटरसाइलमा आएका बन्दुकधारीले गरेका थिए । तिनलाई पत्ता लगाउन प्रहरी असफल भयो । उनी नेपाल मुस्लिम संघका महासचिव हुँदा नै हत्या भएको थियो ।

खासगरी नेपालका मुस्लिम संगठनमा आवद्ध रहेका व्यक्तिको निरन्तर हत्या हुनुलाई नेपालमा धार्मिक युद्ध भड्काउने षडयन्त्रका रूपमा मात्र नहेरी राजनीतिलाई अस्थिर बनाउने खेलका रूपमा पनि लिइएको छ ।

अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग जोडिने नेपालमा भएका हत्या श्रृङ्खला अन्तर्गत नै खुर्शिद हत्यालाई राखेर हेरिन थालेको छ । यस्तो हत्याको सुरुआत सांसद मिर्जा दिलसाद बेगलाई राजधानीको मित्रपार्कमा हत्या गरेदेखि सुरु भएको थियो ।

मिर्जापछि ०५९ सालमा दाउद इब्राहिम समूहका शरद सेट्ठीको हत्यामा बाल ठाकरेसँगै संलग्न रहेका कमलसिंह नेपालीको नयाँ बानेश्वरमा हत्या भयो ।

भारतीय गुप्तचर संस्थाहरूको निर्देशन र निगरानीमा १० पुस ०६६ मा बुटवल ४ मैना बगरमा परवेज टान्डा भन्ने सौकत अलि बेगको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरेका थिए । त्यस हत्यामा संलग्न मोहम्मद बकार सहिद रहेको भनी मृतककी पत्नीले लाइसेन्समा रहेको आरोपीको फोटो हेरी सनाखत गरेकी थिइन् । पछि यिनै बकारले जमिम शाहलाई गोली हानी हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।

१९ असोज ०६६ मा नेपालगन्जको लालीगुराँस होटलमा स्थानीय अब्दुल मजिद मनिहारको हत्या भयो । मनिहारले भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

यो श्रृङ्खला यतिमा सकिएन । सञ्चार उद्यमी जमीम शाहको २४ माघ ०६६ मा काठमाडौँको लाजिम्पाटमा हत्या भयो । प्रहरीका डीआइजी राजेन्द्रसिंह भण्डारी तथा पूर्वन्यायाधीश गोविन्द उपाध्यायको छानविन आयोगद्वारा भारतीय आपराधिक समूहबाट हत्या भएको ठहर थियो । भारतीय अपराधीहरूले उनलाई भारतविरोधीको संज्ञा दिँदै आएका थिए ।

नक्कली भारतीय रूपैयाँको कारोबार अभियोगमा जेल सजाय भोगिरहेका युनुस अन्सारीलाई छोटा राजन र बब्लु श्रीवास्तव समूहका मनमित सिंहद्वारा २६ फागुन ०६७ मा जेलमै गोली प्रहार भएको भनिएको थियो ।

खुर्शिदको हत्या छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै मुस्लिम संघ र संगठन आन्दोलनमा छन् । भुटाहा बजार बन्द गरी आन्दोलनकारीले गृहमन्त्री रामबहादुुर थापाको उपस्थितिमा लास उठाउने भनेका छन् ।

दुईवटा मोटरसाइलकमा आएका ४ जनाको समुहले खुर्शिदलाई गोली हानी हत्या गरेको थियो । मिर्जाबाहेकका हत्या गरिएका अन्य व्यक्तिलाई मोटरसाइकलमा आएका बन्दुकधारीले दिउँसै गोली प्रहार गरेका छन् । उनीहरू शक्तिशाली निकायको आडमा नै हत्याको पूर्वयोजनासहित आउने गरेका घटनाक्रमले देखाउँछ ।

तर, नेपाल प्रहरी तत्कालै खुर्शिद हत्यालाई अघिल्ला हत्याप्रकरणसँग जोडेर प्रतिक्रिया दिने अवस्थामा छैन, उसले यस घटनाको गहन अनुसन्धान बाँकी रहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *