Sajhamanch Archive

कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, ‘हावाको बेगझैं फैलिँदै छ’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं – नेपालमा पछिल्लो एक साताको कोरोना संक्रमण दरको तथ्यांक हेर्ने हो भने १२ प्रतिशतभन्दा धेरै देखिएको छ। विश्वमा ओमिक्रोन भेरियन्टको संक्रमणसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।

हालसम्म नेपालमा २७ जना कोरोना संक्रमित पुष्टि भएपनि विज्ञहरु भने समुदायमा ओमिक्रोन फैलिसकेको दाबी गर्छन्। स्वास्थ्य अधिकारीहरु पनि समुदायमा ओमिक्रोन फैलिएकोमा आंशका गर्छन्।

गत साता आइतबार नेपालमा कोरोना संक्रमितको तथ्यांक ३ प्रतिशत भन्दा कम थियो। तर नेपालमा ओमिक्रोन भित्रिएसँगै केही दिनयता कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ।

९ दिन अगाडि २.८ प्रतिशत रहेको संक्रमणदर हाल १२ प्रतिशत भन्दा धेरै पुगेको छ। सोमबार १२.६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।

पुस १८ गते आइतबार ७ हजार ६ सय ३१ नमुनाको परीक्षण गर्दा २ सय १६ नमुनामा संक्रमण पुष्टि भएको थियो। यो २.८ प्रतिशत हो।

त्यस्तै सोमबार १२ हजार हजार ४ सय ९८ नमुना परीक्षणमा ३ सय २६, मंगलबार ९ हजार ३ सय २९ परीक्षणमा ३ सय ३९, बुधबार १० हजार २ सय ६७ परीक्षणमा ४ सय ३५ पोजेटिभ देखिएको थियो।

यसैगरी, बिहीबार १२ हजार ९९ परीक्षणमा ५ सय ४० पोजेटिभ, शुक्रबार १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ पोजेटिभ र शनिबार १३ हजार दुई सय ६४ नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएकोमा ९४४ नतिजा पोजेटिभ आएको थियो।

त्यस्तै आइतबार १२ हजार ६ सय ३२ नमुना परीक्षण गर्दा हजार १ सय ६७ र सोमबार ११ हजार ४२९ नमुना परीक्षण गर्दा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो।

यसरी पछिल्लो नौ दिनको तथ्यांक हेर्दा नेपालमा झण्डै १० प्रतिशतले कोरोना संक्रमणदर बढेको छ। यसरी संक्रमणदर ह्वात्तै बढ्दा कोरोनाको तेस्रो लहर आउनेमा विज्ञहरुले सहजै आंकलन गरेका छन्।

देशमा भइरहेका सभा,सम्मेलन, राजनीतिक गतिविधिका कारण पनि संक्रमण फैलन सहयोग पुगेको संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन्।

ल्याबले २७ जनामा ओमिक्रोन पुष्टि गरेपनि समुदायमा यो फैलिसकेको छ, डा. पुन भन्छन्, ‘द्रुत गतिमा फैलन सक्ने क्षमता भएको यो भेरियन्टलाई सभा समारोहले झन फैलन सहयोग गराएको छ, त्यसैले अब ठुलो संख्यामा संक्रमण पुष्टि हन्छ।’ डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन निकै संक्रामक देखिएको छ,तर ओमिक्रोनका कारण जटिल समस्या र मृत्युदरको जोखिम कम देखिएको छ।

डा।पुनका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्‍ने हो भने ओमिक्रोन यतिबेला समुदायमा हावाको बेगझैं फैलिरहेको छ। तर यसले धेरै जटिलता नल्याएका कारण संक्रमितहरु घरमै बिना चेकजाँच बसिरहेका हुन सक्ने उनको आँकलन छ।

कोभिड – १९ यूनिफाइड अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्‍नेले पछिल्लो एक सातामा नै अस्पतालमा तीन गुणा बिरामीहरु थपिएको बताए। उनले भने, ‘एक साता अगाडि अस्पतालमा जम्मा १० जना संक्रमित थिए, सोमबार ३० जना संक्रमितको उपचार भइरहेको छ। संक्रमितको संख्या तेब्बरले बढेको छ। उनीहरुमध्ये पाँच जनामा कडा लक्षण छ।’

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा यसै महिनाको सुरुमा भर्ना हुनेको संख्या शुन्यमा पुगिसकेको थियो तर अहिले पुन सो संख्या बढ्न थालको अस्पतालले जनाएको छ। अस्पतालले संक्रमित बढ्दै गए उपचारको लागि तयारी अवस्थामा बसेको जनाएको छ।

त्यस्तै सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा अघिल्लो सातासम्म दैनिक दुई जना बिरामी हुने गरेकोमा हाल दैनिक ७ जना भन्दा धेरै संक्रमित भर्ना हुन थालेको अस्पतालका कोभिड फोकल पर्सन डा.प्रविन नेपालले बताए।

त्यस्तै पाटन अस्पतालमा पनि संक्रमितको संख्या बढ्न थालेको अस्पतालका निर्देशक रवि शाक्य बताउँछन्। हाल अस्पतालमा ४० जना संक्रमित उपचाररत रहेको उनले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि तेब्बरले संक्रमण बढेको देखाउँछ । गत आइतबार कोरोनाको संक्रमण दर २.८३ प्रतिशत थियो। तर, सोमबारदेखि उकालो लागेको संक्रमण दर आज ९सोमबार०सम्म आइपुग्दा १२ प्रतिशत नाघेको छ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले नेगेटिभ देखिएका व्यक्तिहरूलाई पनि कन्ट्याक ट्रेसिङको काम तीव्ररूपमा गरिरहेको जनाएको छ।

कोभिड यूनिफाइड अस्पतालका निर्देशक डा। भूपेन्द्र बस्नेतका अनुसार ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चाप मध्यनजर गर्दै सबै अस्पताललाई उपचारको तयारी अवस्थामा बस्न निर्देशन दिएको छ।

डा। बस्नेतले  भने, ‘उपचारको तयारीका लागि आवश्यक आईसीयू, भेन्टिलेटर, बेडलगायत अन्य सामग्री तयारी अवस्थामा राखिएको छ।’

कोभिड युनिफाइड केन्द्रीय अस्पतालले केन्द्रका १३ र सातै प्रदेशका कोभिड अस्पतालसँग समन्वय गरेर संक्रमितको उपचार व्यवस्थापन गरिरहेको उनले बताए।

अक्सिजन व्यवस्थापन गर्ने, आइसीयू, भेन्टिलेटरहरु सञ्चालन गर्नेलगायत पूर्वाधारका विषयमा काम गर्र्दै खोपलाई बढी प्रथामिकतामा राखेको उनले बताए। सीमा नाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन र संक्रमितहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ।

मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राका अनुसार ओमिक्रोनको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै पूर्वतयारीस्वरूप देशभर ८५ वटा अक्सिजन प्लान्टहरू स्थापना भइसकेको छ।

ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चाप मध्यनजर गर्दै सबै अस्पताल उपचारको तयारीका लागि आवश्यक आईसीयू, भेन्टिलेटर, बेडलगायत अन्य सामग्रीको जोहो भएको उनले बताइन्।

दोस्रो लहरमै धेरै एचडियू,भेन्टिलेटर, आइसीयू र निकै ठुलो मात्रामा अक्सिजन प्लान्ट जडान थप भएका छन्। नाकाहरूमा परीक्षण दर र होल्डिङ सेन्टरहरूको दायरा फराकिलो बनाउने तयारी चलिरहेको उनले बताइन्।

जिवाणुविज्ञ डा. सन्तोष दुलालका भन्छन्, ुतेस्रो लहर सुरु भइसकेको छ। नेपालमा अझै ठुलो संख्यामा मानिसहरु परीक्षणको दायरामा नै आएका छैनन्।

अबको केही दिनमै नै ओमिक्रोनले उच्च रूप लिन्छ। नयाँ भेरियन्टले खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिमा भने यसले गम्भीर अवस्था बनाउन सक्छ पनि भनिएको छ ।

यसैले, सावधानी अपनाउन र जतिसक्दो चाँडै पूर्वतयारी गर्नुपर्छ । बालबालिकालाई यथाशाक्य छिटो खोप लगाउनुपर्छ।’ खोप लगाउन छुटेकालाई खोप लगाउने, वृद्धावृद्धा तथा दीर्घ रोगीहरूलाई बुस्टर डोज लगाउने काम गर्न विज्ञहरुको सरकारलाई आग्रह छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *