मेला-महोत्सव बन्द गर्न आदेश दिएर चितवनका सीडीओ र महानगरकी प्रमुख आफैँ महोत्सवमा
Published: (Updated: )
by .भरतपुर। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि मेला-महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङ आफैँ भरतपुरका मेयर रेणु दाहालसँग चितवन महोत्सव घुम्न पुगेका छन्।
चितवनका सर्वदलीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय २६ पुसमा गरेको थियो। चितवन महोत्सव शुरु भइसकेकाले दुई दिन व्यवस्थापनको काम गर्न दिएर अरू सबै महोत्सव रोकिएको थियो।
उक्त सर्वदलीय बैठकको निर्णयअनुसार, सीडीओ अस्मान तामाङले रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा लाग्ने माघे संक्रान्तिको मेला नगर्न विज्ञप्तिमार्फत आदेश दिएका थिए।
महोत्सव बन्द गर्न आदेश दिने उनै सीडीओ तामाङ चितवन महोत्सव हेर्न पुगेका छन्। चितवन महोत्सव ४ माघसम्म सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम थियो।
सीडीओ तामाङ भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित महोत्सवमा पुगेका हुन्।
कोरोनाको तेस्रो लहरको सुरु भएपछि सरकारले जोखिम नियन्त्रण गर्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोकसमेत लगाएको छ। १५ माघसम्म जिल्लाका विद्यालयहरूसमेत बन्द गर्ने निर्णय कार्यान्वयन भइसकेको छ।
मेला महोत्सव बन्द गर्न आदेश दिएर आफै महोत्सव घुम्न पुगेपछि सीडीओ तामाङको आलोचना भएको छ। विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएको स्थानीयको आरोप छ। यति मात्रै नभएर सीडीओ, एसपी र जनप्रतिनिधि नै संक्रमण फैलाउन सक्रिय देखिएको उनीहरूको आरोप छ।
बुधबार मात्रै पनि चितवनमा ८१ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ। मंगलबार ४७ जना संक्रमित थपिएका थिए। बुधबार जिल्लामा सक्रिय संक्रमित संख्या दुई सय ४० पुगेको छ। १० दिनअघि जिल्लामा ७६ जना सक्रिय संक्रमित थिए।
यसैबीच पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ। ३० पुसको बिहानबाट १ माघको बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो।
कोभिडको संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको हो। माघे सङ्क्रातिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाटसमेत भक्तजन आउने गर्दछन्।
प्रमुख जिल्ला अधिकारी तामाङले छिमेकी जिल्लाका प्रशासन कार्यालयमा जानकारीका लागि पत्राचार गरिसकिएको बताएका थिए। उनले भनेका थिए, “स्नानका लागि भक्तजनले दुःख नहोस् भनेर हामीले पूर्व जानकारी गराइसकेका छौं।”
Comments