निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सकियो, स्थानीय तहको निर्वाचन समयमै गर्न दलको आग्रह
Published:
by .काठमाडौं, निर्वाचन आयोगको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बसेको बैठक भर्खरै सम्पन्न भएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता विष्णु रिमालले समयमै स्थानीय तहको निर्वाचन गर्न आयोगलाई आग्रह गरेको जानकारी दिए । ‘राष्ट्रियसभाको निर्वाचन तोकिएकै स्थानमा हुन्छ’, रिमालले भने, स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेका छौँ ।’
बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दल सहभागी थिए । बैठकमा राष्ट्रियसभाको निर्वाचन, मतदाताको नामावली संकलन, स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।
बैठकमा आयोगलाई राजनीतिक दलले विभिन्न विषयमा सुझाव दिएका छन् । मतदानस्थल र मतदान केन्द्र बढाउनुपर्ने सुझाव दिएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
कोरोना महामारी र संक्रमणको स्थितिलाई हेरेर निर्वाचन केन्द्र थप्नुपर्छ’, काँग्रेस नेता लेखकले भने, निर्वाचन केन्द्र र मतदानस्थल थप्नुपर्छ भनेका छौँ ।’
सरकारले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने लगायत सुझावसमेत नेताहरुले दिएका थिए । नेता लेखकका अनुसार बैठकमा आयोगले निर्वाचनका लागि संवैधानिक र कानूनी अवस्था के कस्तो छ भन्ने विषयमा जानकारी गराएको छ ।
Comments