थारू समुदायमा माघीः उहिले पीडा, अहिले उमङ्ग
Published:
by .बुटवल। कोखिलामा ढकिया, टाउकोमा धरी, गलामा सुतिया र लामो चौकी, हातमा बाजु, नाडीमा गहट्टा(अगेला पखेला)। कम्मरमा करधुन, खुट्टामा कडा, कम्मरमाथि अङिया र कम्मर तल लेहेंगाले लगाएर सजिएका छन्, रूपन्देही सैनामैना नगरपालिका(२ उचडिहवाका सुमी चौधरी, बिनिता थारू र कल्पना थारू।
माघीकै माहोलमा उचडिहवाको थारू बस्ती बेहुलीजस्तै सिंगारिन्छ। चहलपहल हेर्दा लाग्छ, यहाँका ६९ घर विवाहको तयारीमा छन्। सबै सदस्य चट्ट सिँगारिएका छन्। गीत गुन्जिरहेछ,
‘माघा ना हैली सुअरिक
सिकार खाइली होना
सखि ए हो, माघा के पिइली गुरी गुरी जाँड
सखि ए हो ,माघा के पिइली गुरी गुरी जाँड’
माघीमा गाइने अति प्रचलित गीत हो यो। ४५ वर्षीया सीता थारूले हरेक साल माघीमा आफ्ना सन्तान तथा छिमेकीलाई यो गित सिकाउँछिन।
यसपाली पनि खपडाले छाएको, माटोले बनाइएकोे घरको आँगनमा बसेर उनले यो गीत सिकाइरहेकी थिइन्। उनका लागि आज वर्षकै सबैभन्दा खुशीको दिन हो। तर यो पर्व सधैँ यस्तो खुशीले भरिपूर्ण थिएन।
“हरूवा, चरुवा, कमैया, कमलरीकोसमयमा निकै दुःख भोग्यौँ”, व्यथा भरिएका विगत माघी सुनाउँदै सीताले भनिन्, “सासु ससुराहरू यही कामको लागि सबेरै उठेर जिम्दारहरूकोमा जाने र राती अबेरसम्म काम गर्ने हुँदा चाडपर्व मनाउँदा खासै खुशी लाग्ने थिएन।”
कमैया र कमलरी ९कु०प्रथा नहट्दासम्म माघीको दिन उनीहरूको हिसाबकिताब मिलाउने दिन हुने गथ्र्यो। जिम्दारहरूले वर्षभरिका लागि नयाँ कमैया, कमलरी छनोट गर्थे। लिलामी गर्थे। बिक्री गर्थे।
त्यो प्रथा कानूनतः टुंगियो। समय पनि फेरियो। अचेल माघी खुशी लिएर आउन थालेको छ। “माघी पर्वको मौलिक परम्परा यथावत राख्दै थप मनोरञ्जनको बाटो खोज्नुपर्छ”, सीता भन्छिन्।
विगत बिर्साउने चाड
हो अचेल माघी त्यो विगत बोकेर आउँदैन। यो त उमंग लिएर आउँछ। यस्तै अनुभव छ, सैनामैनाका धनीराम थारूको पनि।
६९ वर्षीय धनीरामको जिन्दगीका १८ माघ हरूवा-चरुवा बनेरै बितेको छ। २५ वर्षको लक्का जवान हुँदासम्म उनी हरूवा-चरुवा बनेर बस्न बाध्य भए। बाउबाजेको सम्पत्ति भए पनि हरूवा-चरुवा बस्नुपर्ने थारू जातिको बाध्यतासरह भएको सुनाउँछन् उनी।
“हरूवा चरुवाको बेलामा २ भाईले घरमा काम गर्ने बाँकी दुई भाईले हरूवा चरुवा गर्ने हुन्थ्यो, हामी पनि त्यहीँ गर्यौँ”, धनीराम सुनाउँछन्।
विगत सम्झिँदा उनका आँखा रसाए। माघीको दिन जमिन्दारको घरमा गएर खिचडी खाएपछि हरूवा-चरुवा जीवन शुरु हुन्थ्यो रे। अनि त कामै-काम। फुर्सद त शब्दकोशमै थिएन।
“बिहान ३ बजे काममा गयो, बिहान खाना खान आधा घण्टा आफ्नै घर आयो, राती ८ बजेसम्म काम गर्यो, धेरै दुःख पायौँ। दिनभर काम गर्यो, ज्याला ४ सेई९१ पाथी०”, सुनाउँदा सुनाउँदै आँखा रसाए उनका।
ती दुःखका दिनमा पनि पर्वको रौनक भने कायमै थियो। आखिर मानिस दुःखमा पनि त सुखका मसिना भए पनि किरणहरू खोजिरहन्छ।
माघी मनाउन पुसको अन्तिम दिन गाउँभरिका थारू मिलेर सुँगुर काट्ने गरेको अनुभव सुनाए उनले। ढिकरी, रोटी, माछा बनाउने, रातभरी नाच्ने प्रचलन पुरानो रहेको सुनाए उनले।
माघीको दिन सबेरै तिर्थस्थलमा नुहाएर आइसकेपछि आफ्ना छोरीचेलीलाई उपहार दिने चलन रहेको बताए पनि। “त्यो उपहारमा चामल, नुन, दाल आदि आफ्नो गच्छे अनुसार दिइन्छ”, धनीराम भन्छन्, “यसले दिदीभाइहरूमा सम्बन्ध बढाउँछ।”
पुराना राम्रा प्रचलन जोगाउँदै, नराम्रा कुचलन हटाउँदै माघी मनाउने शैली फेरिइरहेको छ। अब त माघी नै पुराना दुःख बिर्साउने चाड बनेको सुनाउँछन् धनीराम थारू।
लुम्बिनी प्रदेशसभा उपसभामुख कृष्णी थारू पनि जीवनशैलीमा आएको परिवर्तनसँगै माघी मनाउने तरिका फेरिएको बताउँछिन्। उनका अनुसार माघी खानपिन र रमाइलो गर्ने चाड मात्र हैन।
“खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारू समुदायका लागि थकान मेटाउने अवसर पनि हो यो”, उपसभामुख थारू भन्छिन्, “वर्ष दिनका लागि नयाँ नीति नियम बनाउने, त्यसको कार्यान्वयनका लागि प्रतिज्ञा गर्ने, नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समीक्षा पनि हुन्छ।”
महोत्सव बन्यो पर्व
माघी मनाउने शैलीमा आएको अर्को महत्त्वपूर्ण परिवर्तन हो, महोत्सवहरू। पहिले गाउँको खाली भूभागमा जम्मा भएर माघी मनाइन्थ्यो। अचेल माघी महोत्सव हुन थालेका छन्।
त्यसो त माघे संक्रान्तिमा अरू समुदायले पनि विभिन्न कार्यक्रम गर्छन् तर थारू समुदायले यसलाई महोत्सवकै रूपमा मनाउँछ। क्षेत्र तोकेर माघी महोत्सव आयोजना गरिन्छ।
ती महोत्सवमा खिचडी, जाँड, रक्सि, ढिकरी, घुँगी, माछा, अनदिको भुजा, पतुसनी, कछुवाको मासु, बँगुरको मासु, गँगटा, मुसा, पकौडा लगायत थारू परिकार राख्न गरिन्छ। त्यस्तै थारू समुदायमा प्रचलित गीत र नृत्य प्रदर्शन गरिन्छ।
थारू कल्याणकारी समितिका दुलबहादुर थारू भन्छन्, “समयको माग अनुसार कार्यक्रमहरू आयोजना हुँदै आएका छन। पछिल्लो समय माघी मनाउने शैलीमा आएको केही फरकपनले संस्कृतिमा कुनै आँच आउँदैन।”
यो परिवर्तनलाई थारू समुदायले पनि सहर्ष स्विकार गरिरहेछ। रूपन्देही सैनामैनामा थारू होमस्टे सञ्चालन गरेर बसेकी विष्णु थारूलाई माघीका क्रममा आयोजना गरिने महोत्सव उपयुक्त लाग्छ।
“परम्परालाई कायमै राख्नको लागि भए पनि नयाँ र थप मनोरञ्जनको तरिकाबाट मनाउनको लागि महोत्सव चाहिन्छ”, उनी भन्छिन्, “नयाँ पुस्ताले हरेक कुराहरूलाई बिर्सदै जाने भएकोले पनि संस्कृति जगेर्ना गर्नको लागि नयाँपन सहितको शैली आवश्यक रहेको छ।”
असन्तुष्ट पुरानो पुस्ता
थारू समुदायका जेष्ठ सदस्य भने नयाँ शैली मनाउने नाममा पुराना राम्रा प्रचलन हराउँदै गएकोमा असन्तुष्ट छन्। माघीको अवसरमा विभिन्न घाटहरमा स्नान गर्ने पुरानो चलन हराएकोमा असन्तुष्ट छन् थारू कल्याणकारी समिति रूपन्देहीका उपसभापति बुद्धि चौधरी।
“घरका बुढापाकाले तीर्थस्थलमा गएर नुहाउने ईच्छा व्यक्त गरे पनि आजभोली घरमै नुहाउन थालिएको छ”, उनी दुखेसो पोख्छन्। त्यस्तै माघीमा गाइने मातृभाषाका गीतहरू नयाँ पुस्ताले बिर्सँदै गएकोमा असन्तुष्ट छन्, धनीराम थारू।
अहिलेका माघि विशेष कार्यक्रमहरूमा थारू भाषाका गीत प्रस्तुत गरिने भएता पनि पुराना भाका, लय तथा गीत हराउँदै गएको उनको दुखेसो छ।
Comments