प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम
Published:
by .जनकपुर, प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम बनेको छ। सोमबार प्रदेश सभामा सम्पन्न मतदानमा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा ७८ मत परेको र उक्त संख्या दुई तिहाईभन्दा बढी भएकाले स्थायी राजधानी जनकपुरधाम कायम भएको सभामुख सरोज यादवले घोषणा गरेका हुन्।
प्रदेशसभाका १ सय ४ जना सदस्यमध्ये मतदानमा ९९ सांसद सहभागी थिए। प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट स्थायी राजधानीका लागि संयुक्त रुपमा पेस भएपछि उक्त प्रस्तावमाथि मतदान भएको थियो।
प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्न प्रस्ताव गरेका थिए।
स्थायी राजधानीको प्रस्ताव पारित भएसँगै प्रदेश राजधानीसम्बन्धी यसअघिका सबै प्रस्ताव स्वतः निष्क्रिय भएकोसमेत सभामुखले घोषणा गरेका थिए।
Comments