Sajhamanch Archive

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा करिब ११ सय मतपत्र, मतदान सकिएको चार घण्टापछि नतिजा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by .

काठमाण्डौ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ मा निर्वाचन जारी छ । बिहान ९ बजेबाट सुरु मतदातको अन्तिम समय ३ बजेसम्मका लागि तोकिएको छ ।

मतदान गर्ने समयपछि आजै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । मतदान सकिएको केही घण्टाभित्र मतपरिणाम आइसक्ने प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले बताए ।

‘मतदान सकिएको चार घण्टाभित्रमा मतपरिणाम आउँछ,’ प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत लम्सालले भने, ‘करिब ११ सय मतपत्र गन्नुपर्ने छ ।’

निर्वाचन कार्यालयले खुलातर्फ, महिलातर्फ र अल्पसङ्ख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ । मतदान पनि सोहीअनुसार भइरहेको छ ।

प्रदेशसभाका सदस्य ९२ र स्थानीय तहका प्रमुख उपप्रमुख दुई सय ७२ जनाले मतदान गर्नेछन् । मतपत्र जम्मा एक हजार ९२ वटा हुने छ । मतगणना प्रदेश निर्वाचन कार्यालयमै हुने छ ।

तीन पदका लागि आठ जना चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली काङ्ग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसङ्ख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई छन् ।

नेकपा एमालेको तर्फबाट खुलातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । राप्रपाको तर्फबाट झापाका अमरबहादुर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवार छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *