जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, आठ गाडी तोडफोड, १९ राउण्ड अश्रुग्याँस प्रहार
Published:
by .जनकपुरधाम– जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशको मतदानस्थल महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानभित्र जनमत पार्टीका कार्यकर्ताहरूले बाँसको भाटा लिएर छिर्न खोज्दा झडप भएको हो ।
सुरक्षाकर्मीले भीडलाई तितर बितर पार्न केही सेल अश्रुग्याँस प्रहार गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरूले राष्ट्रियसभाको चुनावमा मतदान गर्न विभिन्न जिल्लाबाट आएका प्रदेश सांसद्, मेयर र उपमेयरका गाडीहरूलाई ‘निशाना’ बनाएर तोडफोड गरेका छन् ।
उनीहरूले जनता समाजवादी पार्टीका सांसद्हरू अशोक यादव, मनिष सुमन, नेत्रविक्रम साह, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँलगायत सवार गाडी तोडफोड गरेका छन् ।
लाठीभाटासहित प्रदर्शन गरेका उनीहरूले जानकी मन्दिर, मुरली चौक, तिरहुतिया गाडीलगायत ठाउँमा गरी आठ वटा गाडी तोडफोड गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १९ राउण्ड अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन् । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मल दिएपछि मात्र भोट खसाल्न पाइने भन्दै जनमत पार्टीले राष्ट्रियसभाको चुनावमा अवरोध पुर्याउन खोजेको हो । जनमत पार्टीले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ ।
Comments