Sajhamanch Archive

नेपाल कम्युनिष्ट पार्टी फिर्ता ल्याउने ऋषिराम कट्टेल पार्टीबाटै निष्कासित

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टीको अहितमा काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

अध्यक्ष कट्टेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको नेपाल कम्युनिष्ट पार्टीले १३ माघमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कट्टेललाई १३ माघदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको कार्यबाहक अध्यक्ष सुवेदीले बताए । पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ मा छानबिन समिति गठन गरिएको थियो ।

तर, छानबिन समितिको ७ माघ मा सोधेको स्पष्टीकरणको जवाफ नदिएकाले कट्टेललाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

७ माघमा सोधिएको स्पष्टीकरणको कुनै पनि जवाफ नदिनुभएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७.११ बमोजित दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानविन समितिको सिफारिसबमोजिम आजैका मितिदेखि निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ कार्यबाहक अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको एकता बदर गरी कट्टेलले नेपाल कम्युनिष्ट पार्टी आफ्नै नाममा फिर्ता लगेका थिए । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्दै नेपाल कम्युनिष्ट पार्टी आधिकारिकता कट्टेल नेतृत्वको पार्टीलाई दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *