तयार भयो राजेन्द्र बजगाईंको नेपाल झल्काउने १ अर्बको होटल ‘वर्णवास’
Published:
by .काठमाडौ, बालुवाटार र नक्सालको साँध । छिनछिनमा भिभिआइपी र भिआइपीहरुको सवारीले व्यस्त हुने एरिया । त्यही व्यस्त एरियामै ठडिएको छ, एउटा अग्लो भवन ।
भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिन थालिएको छ । यस्तै भवनका लबी र कोठाहरुमा धमाधम नेपाल झल्कने सजावट जारी छ ।
यो हो, लक्जरियस बुटिक होटल ‘वर्णवास’ ।
पर्यटन व्यवसायी राजेन्द्र बजगाईंको १ अर्ब १६ करोड लगानीमा निर्माण भइरहेको होटल अबको ८ महिनाभित्र सञ्चालनमा आउँदैछ । संरचना सकेर इन्टेरियरको काम सुरु भएको होटललाई बजगाईंले वर्णवास म्युजियम होटलमा परिणत गराउन लागिपरेका छन् ।
वर्णवासमा प्रवेश गर्ने बित्तिकै काठमाडौं उपत्यका, त्यसमा पनि नेवारी समुदायको संस्कृति झल्कने खालका आर्टहरु राख्न थालिएको छ । लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध भएका व्यवसायी बजगाईंले नयाँ सोच र अवधारणाका साथ ५ तारे बराबरको सेवासुविधाकै स्तरमा होटल निर्माण गरेका छन् ।
लक्जरियस होटलमा उनले नेपालको रैथाने कला संस्कृति र जातजातीहरुको पहिचान झल्कने गरी सजावटलाई पनि तीव्रता दिएका छन् ।
सुविधासम्पन्न र लक्जरियस होटल तथा रिसोर्टको भीडमा नयाँपन दिन खोजेका उनै बजगाईंले करिब २ रोपनी क्षेत्रफलमा साढे ९ तले लक्जरियस बुटिक निर्माण गरिरहेका हुन् । होटलभित्र नेपालका विभिन्न जातजातीको संस्कृति झल्कने खालका वेशभूषा र ग्यालरीहरु राखिने भएकोले पनि ‘म्युजियम’ होटलमा परिणत गर्ने उनको सोच छ ।
‘लभी र प्रि–फङ्सनमा आर्ट ग्यालरी रहन्छ’, निर्माणधीन होटलबारे जानकारी गराउँदै सञ्चालक बजगाईले भने, ‘होटलमा प्रवेश गरेसँगै काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने आर्ट देख्न सकिन्छ । होटलभित्र घुम्दा नेपालको सभ्यता झल्कियोस् भन्ने हो ।’
साढे ९ तलाको होटललाई तीन तहमा विभाजन गरिने छ । जहाँ हिमाल, पहाड र तराई गरी सिंगो नेपाललाई नै होटलभित्र चित्रित गर्न खोजेको उनले सुनाए । यस्तै त्यसभित्र तीन तहमा बसोबास गर्ने मूल आदिवासी समुदायले प्रयोग गर्ने वेषभूषा र संस्कृतिलाई झल्काउन खोजिएको छ ।
होटलको पहिलो र दोस्रो तलामा तराई क्षेत्रको प्रतिनिधित्व गर्दै थारु समुदायले प्रयोग गर्ने वेषभूषा र उनीहरुकै संस्कृति झल्किने सामाग्रीहरु राखिनेछ । कोठामा पनि तिनै समुदायले प्रयोग गर्ने सामाग्री नै राखिनेछ । तराईमा खेतिपातीदेखि नेपालको जग नै थारु भन्ने गरिएकोले यो जातिलाई प्राथमिकतामा राखिएको उनले बताए ।
तेस्रो र चौथो तलामा गुरुङ समुदायको प्रतिनिधित्व हुने गरी तयारी भइरहेको छ । गुरुङले आदिवासी समुदायलाई प्रोत्साहन गर्नुका साथै बहादुरीमा घले गुरुङहरु अग्रपंक्तिमा देखिएकोले सोहीअनुसारको संस्कृतिको झल्को दिने वेषभूषाहरु राखिने छ ।
होटलको माथिल्लो तल्लामा शेर्पालाई प्रतिनिधित्व गरिने छ । शेर्पाहरुले पर्यटन क्षेत्र र नेपाल चिनाउन ठूलो सहयोग गरेकाले उनीहरुको प्रतिनिधित्व हुने गरी त्यहाँ सामग्री राखिने छ ।
त्यससँगै रुफटपमा भने सगरमाथाको झल्को दिने खालको आकार बन्दैछ । सगरमाथा र लोत्सो हिमालको बीचबाट छुट्टिएर सगरमाथा आरोहणका लागि जाने ठाउँ साउथ कोलको नामबाट ‘साउथ कोल बार’ सञ्चालन हुनेछ ।
जहाँ विदेशी र स्वदेशी मदिराको सजावटले आकर्षण थप्नेछ । त्यहाँ सगरमाथा आरोहीले काम गर्नेछन् र हिमाल आरोहणको अफ सिजनमा काम गर्ने अवसर पनि हुने बजगाईं बताउँछन् । त्यसका लागि हिमाल आरोहीसँग समन्वय भइरहेको उनले बताए ।
त्यससँगै ओभर लुकिङ स्विमिङ पुल रहनेछ । जसलाई ‘गोक्यो स्विमिङ पुल’ नाम दिइएको छ । त्यहाँको रङ गोक्यो झल्कने खालको राखिने छ । त्योभन्दा तल रेष्टुराँ हुनेछ । त्यसभित्र पनि दिउँसो सुसिको टर्मिनल हुन्छ ।
त्यससँगै नेपाली फ्युजनको फाइन डाइनिङ रहन्छ । त्यहाँ जापानीज एन्ड कन्टिनेन्टल खानाहरु राखिने बजगाईंले बताए । ‘होटलमा प्रवेश गर्ने र बस्ने पाहुनाहरुलाई नेपालको मुख्य समुदाय र संस्कृतिको पूर्णरुपमा आभाष गराउने मेरो सोच हो’, सञ्चालक बजगाईंले भने, ‘पृथ्वीनारायण शाहले भनेको ४ जात ३६ वर्णलाई प्रतिनिधित्व होटलमा गराउन खोजेको छु ।’
होटलमा ४८ वटा कोठाहरु हुनेछन् । ती कोठामा नम्बरको सट्टा मौलिकता झल्कने नामहरु राख्ने तयारीसमेत भइरहेको उनले बताए। ‘१८ वटा प्राइभेट ज्याकुजी रहनेछन् । यति धेरै प्राइभेट ज्याकुजी रुम रहेको नेपालकै पहिलो होटल हुनेछ’ उनले भने ।
ती रुमहरुमध्ये सबैभन्दा ठूलो ६० स्क्वार मिटरको हुनेछ । यस्तो कोठा प्रत्येक तलामा एक÷एकवटा हुनेछ । तर, अन्य कोठाहरु भने ४० देखि ३४ स्क्वार मिटरसम्मका हुनेछन् ।
गोक्यो लेकको झल्को दिने गरी ९ औं तलामा स्विमिङ पुल
सगरमाथा भन्ने बित्तिकै गोक्यो लेकको पनि नाम अग्रपंक्तिमा आउने गर्छ । यसकारण गोक्यो पुगेका, नपुगेका दुवैलाई होटलमा आभाष दिलाउने सोचका साथ गोक्यो लेकको झल्को दिने गरी ९ औं तलामा स्वीमिङ पुल रहनेछ । त्योसँगै रेष्टुराँ र कफि सप पनि सँगै रहन्छ ।
रेष्टुराँमा २ हजार रुपैयाँमा हाइटीको व्यवस्था पनि हुने छ । त्यसभित्र अनलिमिटेड टी, २ कप कफी र ट्रलिमा कुकिज हुनेछ । र, आफूले छानेर खान पाइनेछ । बिजनेस मिटिङका लागि सबैभन्दा उपयुक्त हुने र युरोप, अमेरिकातिर बढी प्रचलनमा रहेकाले नेपालमा पनि सञ्चालन गर्न थालिएको बजगाईं बताउँछन् ।
कसरी आयो सोच ?
पर्यटन क्षेत्रमा लामो समय काम गरेका बजगाईंले विदेशी लगानी भित्र्याएर साझेदारीको रुपमा भैरहवामा टाइगर प्यालेस सञ्चालन गरे । तर, त्यहाँबाट बाहिरिनु परेपछि एकल स्वामित्वमा केही नयाँ गर्ने सोच आयो ।
आफूले बुझेको र जानेकै क्षेत्रमा केही गरौं भन्ने सोच लिएर अघि बढेका बजगाईले अरुले त्यसको नक्कल ९कपी० गर्दा पनि १० वर्षअघि दौडने सोच राखेर उनले नेपालको पहिचान र संस्कृति झल्कने खालको होटल निर्माणलाई अघि बढाएका हुन् ।
‘यो बनिसकेपछि धेरैले कपी गरेर यस्ता होटलहरु निर्माण नगर्लान् भन्न सकिन्न’, उनी थप्छन्, ‘त्यसैले अरुले सोच्नुअघि नै एक कदम अगाडि बढेर काम गरेको हुँ ।
म गोर्खामा जन्मिएकोले पनि शाहवंशको इतिहासलाई सम्झँदै ४ जात छत्तीस वर्णको फुलबारी भन्ने दिमागमा राखेर म्युजिमको झल्को दिने गरी लक्जरी बुटिक होटल बनाउन लागेको हुँ ।’ उनका अनुसार जातजाती र धर्मको कुरा भन्दा पनि संस्कृति र वेषभूषालाई संरक्षण गर्ने उद्देश्य हो ।
हिमाल आरोहणभन्दा एक रातअघि साउथ कोलमा सुतेर माथि जाने चलन भएकाले होटलमा त्यसैको झल्को दिन खोजिएको हो ।
Comments