Sajhamanch Archive

नेपालमा एकैदिन आठ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by .

नेपालमा कोरोनाविरुद्धको खोप एकैदिन अहिलेसम्मकै धेरै प्रयोगमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार सात सय ९६ जनाले खोप लगाएका छन् । सरकारले यसअघि दैनिक पाँच लाखलाई खोप लगाउने बताए पनि लक्ष्य प्राप्ति हुन सकेको थिए ।

एकै दिन यति धेरै कोरोनाविरुद्धको खोप लगाएको रेकर्ड स्वास्थ्य मन्त्रालयमा थिएन । त्यसैले अघिल्ला दिन लगाएको खोपको विवरण पनि बुधबारको परेको हुन सक्ने आशंका मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले व्यक्त गरे । ‘यसभन्दा अघि प्रयोगमा आएको खोप पनि कहीं आजको विवरणमा समावेश त गरिएको छैन भन्ने आशंका पनि छ,’ उनले भने ।

हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो कोरोनाविरुद्धको खोप लगाएका छन् भने ७४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै, कोरोनाविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार चार सय ७९ मात्रा प्रयोगमा आएको मन्त्रालयको तथ्यांक छ ।

पाँच वर्षमुनिका बालबालिकाका लागि खोप ल्याउने तयारी
फाइजरले पाँच वर्ष मुनिका बालबालिकाका लागि बायोटेक कम्पनीसँग मिलेर परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोप फेब्रुअरीको अन्तिमसम्म ल्याउने तयारी गरेको छ । हालसम्म परीक्षणमै रहेको खोप अपेक्षा गरिएभन्दा छिटो उपलब्ध हुनसक्ने फाइजरले जनाएको हो । उत्पादन कम्पनीहरूले ६ महिनादेखि पाँचवर्ष उमेर समूहमा आगामी मंगलबार आपत्कालीन प्रयोगको स्वीकृतिका लागि एफडिएलाई पठाइने जनाएका छन् ।

बालबालिकामा प्रयोगकालागि खोप ट्रायलकै क्रममा रहेपनि समयमै डाटा समीक्षा गर्न समय चाहिने भन्दै एफडिएले स्वीकृतिका लागि आवेदन पेस गर्न सुझाएको हो । कम्पनीहरूले खोपको तेस्रो डोजमा केही महिनायता परीक्षण गरिरहेको जनाएका छन् ।

खोपको दुई डोज बालबालिकाका लागि प्रभावकारी नदेखिएको भन्दै तेस्रो डोजमा ट्रायल सुरु गरेको थियो । तेस्रो डोजमा भने मार्चको अन्तिमसम्मै ट्रायल गरिने बताइएको छ । कम्पनीहरूले हाल दुई डोज प्रयोगमा ल्याउने तयारी थालेका हुन् ।

नयाँपत्रिकाबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *