Sajhamanch Archive

विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विविधा, by .

काठमाडौ, डिभिजन वन कार्यालय कैलाली अन्तर्गतको पचमुडिया सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दले।

६/७ जनाको समूहमा कार्यालय पुगेका उनीहरुले सहायक वन अधिकृत पण्डितलाई कार्यकक्षभित्र मोसो दलेर थुनिदिएका थिए। र, अन्तिममा मार्ने धम्की दिएर गए।

सामुदायिक वनबाट चन्दा उठाएको कुरा सार्वजनिक गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले पण्डितमाथि दुर्व्यवहार गरेका थिए।

यस्तै केही दिन अगाडि बझाङको वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र सचिव दत्तराम अवस्थीलाई पनि विप्लवका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए।

मोसो दलिएका बझाङको वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल

वडा कार्यालयमा पसेर उनीहरुले वडाध्यक्ष मल्ललाई मोसो दलेका थिए। वडाध्यक्ष र सचिवमाथि दुर्व्यवहार गर्नुको कारण पनि चन्दा नै थियो।

विप्लवका कार्यकर्ताको मागे अनुसार चन्दा नदिँदा आफूमाथि दुव्र्यवहार गरेको वडाध्यक्ष मल्ल बताउँछन्।

‘विप्लवका कार्यकर्ता हौँ भन्दै १५–२० जनाको समूहमा रहेका उनीहरुले एक लाख ५० हजार चन्दा मागेका थिए। त्यत्रो पैसा दिन सकिदैन भन्यौँ,’ अध्यक्ष मल्लले भने, ‘त्यसपछि हामीमाथि दुव्र्यवहार गरिएको थियो।’

विप्लव कार्यकर्ताले मागे अनुसारको चन्दा नदिए मार्ने धम्की समेत दिएको उनको दाबी छ। पछिल्लो समय सुदूरपश्चिममा विप्लव नेतृत्वको नेकपाले चन्दा आतंक मच्चाउन थालेको छ।

विभिन्न जिल्लाका विभिन्न सामुदायिक वन, कर्मचारी, जनप्रतिनिधि र संस्थाबाट विप्लवका कार्यकर्ताले चन्दा उठाउन थालेका छन्।

चन्दा नदिए विप्लवका कार्यकर्ताले कानुन हातमा लिँदै कार्यालयभित्रै कर्मचारी, जनप्रतिनिधिलाई कारवाहीस्वरुप मोसो दल्ने गरेको छ।

राजनीतिको आवरणमा कर्मचारीलाई मोसो दल्ने र सरकारी कार्यालयमा तोडफोड गर्ने क्रम बढेको हो।

वनबाट असुल्दै

आफू मातहतका पाँच सामुदायिक वनबाट चन्दा असुलीको सूचना सार्वजनिक गरेको भन्दै विप्लव कार्यकर्ताले दुव्र्यवहार गरेको सहायक वन अधिकृत पण्डित बताउँछन्।

‘सामुदायिक वनबाट करिब ९ लाख ३० हजार रकम चन्दा असुलेको खुलेको छ। यो विषय सार्वजनिक भएपछि विप्लवका कार्यकर्ताले दुव्र्यवहार गरे। कार्यालय तोडफोडमा उत्रिए,’ उनले भने, ‘मार्ने धम्की पनि दिएका छन्।’

कार्यालय समयमा कार्यालयमै दुर्व्यवहार हुन थालेपछि असुरक्षा महसुस भएको उनले बताए।

मोसो दलिएपछि सहायक वन अधिकृत पण्डित। यो तस्बिर उनले नै सार्वजनिक गरेका हुन्।

कैलालीमा भदौ/असोजतिर विप्लव कार्यकर्ताले सामुदायिक वनबाट चन्दा असुलेका थिए। सहायक वन अधिकृत पण्डितमाथि दुर्व्यवहारपछि मात्रै विप्लवको चन्दा आतंक खुलेको हो।

सामुदायिक वनमा विप्लव कार्यकर्ताले चन्दा आतंक मच्चाएको गुनासो सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पनि पुगेको छ।

समितिको अनुगमनका क्रममा विप्लवका कार्यकर्ताले चन्दा मागेको र नदिए भौतिक कारबाही गर्ने धम्की दिने गरेको भन्दै सुरक्षा माग गरेका थिए।

सामुदायिक वनहरुमा विप्लव कार्यकर्ताको चन्दा आतंक रहेको गुनासो आएको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले बताए।

‘अनुगमनका क्रममा सामुदायिक वनका पदाधिकारीले लाखौँ चन्दा मागिएको गुनासो सुनाएका छन्,’ उनले भने, ‘चन्दा नदिए ज्यान मार्ने धम्की दिएकाले केही सामुदायिक वनले सामूहिक निर्णय गर्दै दिएको पाइएको छ।’

चन्दाको विषयमा विप्लव कार्यकर्ताको कारबाहीमा परेका सहायक वन अधिकृत, वडाध्यक्ष र वडा सचिवले सुरक्षा तथा दुव्र्यहार गर्नेलाई कारबाहीको माग गर्दै प्रहरी गुहारेका छन्। कैलालीमा सहायक वन अधिकृतमाथि दुर्व्यवहारमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

‘जाहेरीमा नाम किटान गरिएको छैन। त्यो क्षेत्रमा सक्रिय विप्लवका कार्यकर्ताको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले भने, ‘अहिलेसम्म कोही पनि नियन्त्रणमा छैनन्।’

नमागेको दाबी

उता विप्लव नेतृत्वको नेकपा कैलालीका सचिव दीपेन्द्र चलाउने पार्टीले चन्दा उठाउन कुनै निर्देशन नदिएको दाबी गर्छन्।

यस्तै विप्लवनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बझाङका इन्चार्ज शंकर खातीले वडाको विकास निर्माणमा आएको बजेटमा वडाध्यक्ष र सचिवले भ्रष्टाचार गरेकाले कारबाही गरेको बताएका थिए।

उनले भने, ‘हामीले हातपात गरेका छैनौँ। भ्रष्टाचार गरेको भन्ने जनगुनासो आएकाले जनकारवाही गरेका हौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *