१ करोड बराबरको अवैध सुन र मोबाइलसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ
Published:
by .काठमाडौं– झण्डै १ करोड रुपैयाँ बराबरको अवैध सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानस्थलकमो आगमन टनेल गेटबाट ३ जनालाई अवैध १ किलो ११५ ग्राम र ३ थान मोबाइलसहित ३ जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुमध्ये २ जना हिमालय एयरको उडानमार्फत् दुबईबाट र १ जना एयर अरेबियाको उडानमार्फत् सारजहाँबाट काठमाडौं आएका बुझिएको छ।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० सोगाढा घर भएका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरको मनहरी गाउँपालिका–७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३१ वर्षीय दावा छिरिङ शेर्पा छन्।
पक्राउ परेका सुनिलको साथबाट बेरुवा ओंठी र सिक्री १–१ थान गरी ५० ग्राम सुन तथा ४ थान आइफोन १३ प्रो म्याक्स मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ।
यस्तै, नवराजको साथबाट बेरुवा औंठी र सिक्री १–१ थान गरी ५० ग्राम सुन र आइफोन १३ प्रो म्याक्स १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।
सारजहाबाट एयर अरेबियाको उडानमार्फत् काठमाडौं उत्रिएका दावाको साथबाट बेलनाकार बनाइएको अर्धठोस सुन ३ थान गरी १ किलो ५५ ग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ।
३ जनाकै साथबाट गरी ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको अवैध सुन र मोबाइल बरामद भएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान र थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
Comments