Sajhamanch Archive

मोरङको उखुबारी हत्याको अनुसन्धानका क्रममा ललितपुरमा पनि भेटियो खाल्डोमा गाडिएको अवस्थामा शव

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

मोरङको उखुबारीमा गाडिएको अवस्थामा दुई व्यापारीको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा खोजी गर्दा धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो।

मृत फेला पर्नेमा तेह्रथुमका मोहन लिम्बु रहेको महानगरीय अपराध महाशाखा स्रोतले जानकारी दिएको छ। गतमाघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो।

उखुबारीमा शव फेला परेको घटनाको अनुसन्धानका क्रममा काठमाडौंबाट १ जना पक्राउ परेका थिए। पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीसहितको टोली काठमाडौं आएको थियो।

मोरङ प्रहरीको टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धापाखेलमा एउटा घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो।

मोरङमा फेला परेको शव काठमाडौं बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भइ धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उखुबारीमा मृत भेटिएका दुवै जना घरज्गा कारोबारी भएको खुलेको थियो। करिब एक महिना अघि उनीहरु कारोबार मिलाउन भन्दै घरबाट निस्केको उनीहरुका आफन्तले जानकारी दिएको प्रहरीको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *